राजनीति


पोलिटब्युरो बैठकपछि अध्यक्ष ओलीप्रति ‘नरम’ भए कर्ण थापा

पोलिटब्युरो बैठकपछि अध्यक्ष ओलीप्रति ‘नरम’ भए कर्ण थापा

एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र अध्यक्ष केपी शर्मा ओलीको फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १२:५५, काठमाडौँ

पार्टी नेतृत्वमा रहन उमेर र कार्यकाल सीमा राखिनुपर्ने अडान लिइरहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पोलिटब्युरो बैठकपछि भने नरम कुरा गरेका छन्। 

एमालेमा उमेर ७० वर्ष नाघेपछि र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था हटाउने सचिवालयको निर्णयबमोजिम विधान संशोधन प्रस्ताव शनिबार पोलिटब्युरो बैठकले पनि अनुमोदन गरेको छ। 

बिहीबार सचिवालय बैठकमा यो प्रावधान राख्नैपर्ने जिद्दी गरिरहेका थापाले शुक्रबार पोलिटब्युरो बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीसँग चर्काचर्की गरेका थिए। 

त्यति मात्र होइन, शनिबार पोलिटब्युरो बैठकमा प्रवेश गर्नुअघिसम्म पनि उनले न्याय र सत्यको लडाइँ जारी रहने भनी कडा स्टाटस लेखेका थिए। 

तर उमेर र कार्यकालको सीमा हटाउने व्यवस्थासहितको विधान संशोधन प्रस्ताव पारित गर्दै शनिबार एमाले पोलिटब्युरो बैठक सम्पन्न भएपछि भने स्थायी कमिटी सदस्य थापा प्रतिरक्षात्मक भएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीको प्रशंसा गर्दै पार्टीमा फरक विचार राखेकै कारण फरक व्यवहार नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। 

‘पार्टीको पाेटिलब्युरोको बैठक गहन बहसका साथ सम्पन्न भएको छ। पार्टी जीवनको लाेकतान्त्रीकरणका विषयलाई पार्टी जीवनमा लागु गर्न सबै तयार हुनुपर्ने कुरामा अध्यक्ष कमरेडले विशेष जोड दिनु भएको छ। र, पार्टी भित्र गरिने राजनीतिक बहसका आधारमा कसैमाथि फरक व्यवहार नगरिने स्पष्ट पार्नुभएको छ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान संसाेधन प्रस्तावमाथि ५ र ६ गते आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा घनिभुत छलफल हुनेछ। पार्टीलाई एकताबद्ध बनाउन अस्वस्थ गतिविधि नगर्न पार्टी पंक्तिलाई निर्देशित गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad