राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नवराज सुवेदीलाई ‘लोकलाजको ख्याल राख्न’ सुझाव दिएका छन्।
आफूलाई राप्रपाको अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै सुवेदी आज निर्वाचन आयोगमा उजुरी दिन जान लागेपछि प्रवक्ता श्रेष्ठले इमान नछाड्न आग्रह गरेका हुन्।
‘आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे’, प्रवक्ता श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्, ‘लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस्! तपाई राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है!’
‘राजसंस्था पुन: स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक बन्ने बेला सुवेदीले राप्रपा परित्यागको घोषणा गरेका थिए।
केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई पार्टीको प्रवक्ताबाट हटाएपछि राप्रपा दुई समूहमा बाँडिएको छ।
यसैविरुद्ध महामन्त्री धवल शमशेर राणाले शनिबार आफ्नो सचिवालयमा छुट्टै भेला राखेका थिए।
त्यही भेलाको निर्णयअनुसार लावती र सुवेदीविरुद्ध गरिएको कारबाहीका विषयमा आज निर्वाचन आयोगमा उजुरी दिन लागिएको हो।
Shares

प्रतिक्रिया