राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध तत्काल पुनरावेदन गर्न माग गरेको छ। रास्वपा सांसद सुमना श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएर सर्वोच्चमा पुनरावेदन गर्न माग गरेकी हुन्।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा आलमलाई जेठ १४ गते सफाइ दिएको थियो।
‘...फैसलाले अपराध नै घटित नभएकोजस्तो गरी सम्पूर्ण अभियुक्तहरूलाई सफाइ दिएको छ। आफू संलग्न बम विस्फोटको घटनाका घाइतेहरूलाई उपचार गराई ज्यान बचाउनुको सट्टा सो घटना दबाउनको लागि घाइतेहरूलाई नै जुटको बोरामा राखी इँटाभट्टामा जलाएको अत्यन्तै पासविक अपराधका अभियुक्तहरूलाई सफाइ दिने गरी भएको उच्च अदालतको फैसलाले पीडित तथा आम सर्वसाधारणलाई मर्माहत र आक्रोशित बनाएको छ,’ उनले लेखेको पत्रमा उल्लेख छ, ‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएको कारणले तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेकोमा सर्वोच्च अदालतको आदेशपछि, घटना घटेको एक दशकपछि मात्र मुद्दा चलाइएको थियो। तर, अहिले आएर उच्च अदालतबाट अभियुक्तलाई सफाइ अनपेक्षित फैसला भएको हुँदा सो फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराउन चाहन्छु।’
आलमको पोल खोल्ने त्यो प्रतिवेदन, जसलाई उच्च अदालतले प्रमाण मानेन
सोही मुद्दामा जिल्ला अदालत रौतहटले भने उनीसहित चारजनालाई दोषी ठहर गरी जन्म कैदको सजाय तोकेको थियो। आलम ललितपुरको नख्खु कारागारमा जन्म कैद भुक्तान गरिरहेका थिए। उच्चको फैसलापछि उनी रिहा भइसकेका छन्।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घाइतेलाई इँटा भट्टामा लगेर जलाएको अभियोग आलममाथि छ। तर उच्च अदालतले भने उक्त घटना नै भएको भन्ने एकिन नरहेको फैसलाको पूर्ण पाठमा उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया