रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम विष्फोट नै नभएको र उक्त विष्फोटका घाइतेलाई इँटा भट्टामा लगेर पोलेको दाबी पनि गलत रहेको भन्दै उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिइसकेको छ।
गत जेठ १४ गते भएको फैसलाको पूर्ण पाठ भर्खरै सार्वजनिक भएको छ। उक्त फैसलामा घटनास्थलमा बम विष्फोटका कुनै प्रमाण नरहेको, प्रत्यक्षदर्शीले फोटो पनि नखिचेको, प्रहरीले घटनास्थल मुचुल्का गर्दा पनि बम विष्फोट भएको भनी उल्लेख गर्न नसकेको, इँटा भट्टाका कामदारलाई मुद्दामा प्रतिवादी नबनाएको लगायत कारण जनाउँदै आलमसहित सबै प्रतिवादीले निर्दोष घोषणा गरिएको छ।
घटनाबारे जाहेरी दिने र घटना विवरण कागज गर्ने कतिपय व्यक्तिले अदालतमा पहिलाभन्दा फरक कुरा अभिव्यक्त गरेको, प्रहरी प्रशासनको बलमा घटना दबाइएको भन्ने दाबी गर्दा पनि ‘कुन प्रहरी प्रशासनले दबाएको हो भन्न नसकेको’ आदि कारण पनि फैसलामा उल्लेख गरी घटना नै नभएको तर्क गरिएको छ।
आलमलाई सफाइ दिने फैसलाको पूर्ण पाठ- घटनाको फोटोसमेत छैन, इँटाभट्टामा जलाइएको दाबी झुटो देखियो
अर्थात्, प्रहरी प्रशासनले सुरुमा प्रमाण मेटाउन भूमिका खेल्यो र अहिले अदालतले प्रमाणको अभाव देखाउँदै आलमलाई निर्दोष भनिदिएको छ।
पीडितहरूका दाबीमा, संविधान सभाको पहिलो चुनावको अघिल्लो दिन भएको भनिएको उक्त घटनाको कयौँ दिनसम्म पनि प्रहरीले अनुसन्धानतर्फ कुनै काम गरेको थिएन। आलमले उक्त क्षेत्रमा कसैलाई प्रवेश गर्न दिएका थिएनन्। त्यही कारण प्रमाणहरू लोप गर्न सजिलो भएको थियो। आफ्ना विरुद्धमा बोल्ने पीडितहरूलाई पनि आलमले सुरक्षाकै चेतावनी दिने गरेका थिए।
घटना भइसकेपछि प्रहरी प्रशासनले गर्नुपर्ने घटनास्थल र प्रमाणको सुरक्षातर्फ कुनै काम नै नगरेपछि पीडितहरूले काठमाडौँसम्मै आएर पत्रकार सम्मेलन गरी अधिकारकर्मीहरूको ध्यानाकर्षण गराएका थिए। त्यसपछि काठमाडौँबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाका प्रतिनिधिहरू घटनास्थल पुगेर प्रतिवेदन तयार पारेका थिए। घटनास्थलको तस्बिर पनि संकलन गरेका थिए।
२०६५ जेठ १७ र १८ गते स्थलगत रूपमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन वैशाख २४ गते सार्वजनिक गरिएको थियो।
स्थलगत अध्ययन टोलीमा संलग्न व्यक्तिहरूमा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक, काठमाडौंका कृष्ण गौतम, इन्सेक केन्द्रीय कार्यालय, काठमाडौंका विमल चन्द्र शर्मा, आईडीएफ, काठमाडौंका अध्यक्ष दीपेन्द्र झा, आईडीएफकै यज्ञराज थापा र इन्हुरेड इन्टरनेसनलका बालकृष्ण बस्नेत थिए।
यस प्रतिवेदनलाई पनि उच्च अदालतले प्रमाणका रूपमा लिन अस्वीकार गरेको छ।
इन्सेकको प्रतिवेदनबारे उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासबाट भएको फैसलामा लेखिएको छ, ‘क्षेत्राधिकार उल्लंघन गरी संकलन गरिएका प्रमाणहरू प्रमाणमा ग्रहणयोग्य हुँदैनन्। अग्राह्य प्रमाणको अन्तरवस्तुमा प्रवेश गर्न मिल्दैन। इन्सेकको प्रतिवेदन तत्काल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ का प्रावधानविपरीत रहेकोले यस मुद्दामा प्रमाणको वैधताको अभावमा विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन आएन।’
के छ त इन्सेकको प्रतिवेदनमा? तत्कालीन अवस्थामा घटनास्थल के कस्तो थियो? घटनास्थलमा भेटिएका मान्छेहरूले के भनेका थिए? प्रहरी प्रशासनको रवैया के थियो त?
उक्त प्रतिवेदनको पूर्ण पाठ यसप्रकार छ-
पृष्ठभूमि
रौतहट जिल्लाको राजपुर फरहदवा गाविस वडा नं–४ स्थित नेपाली कांग्रेस रौतहटका सभापति तथा रौतहट जिल्ला क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित महमद अफताव आलमका स्व. काका शेख इद्रिसको खल्यानको घरमा ०६४ चैत २७ गते राती बम बनाउँदा केही व्यक्तिको हताहत भएको र केही घाइते भनिएको घटनाका विभिन्न सञ्चारमाध्यम र घटनामा पीडित भएका परिवारहरूद्वारा काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका विवरणलाई आधार मानी घटनास्थलमा पुगी पीडित पक्ष र सरोकारवालाहरूसँग भेटघाट र घटनास्थलको अवलोकन गरी प्रतिवेदन तयार पारिएको हो।

घटना विवरण
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका महमद अफताव आलमका राजपुरस्थित स्व. काका शेख इद्रिसको खलिहारनको घरमा बम र बम बनाउन आवश्यक पर्ने सामान जम्मा गरी राखिएको थियो। बम बनाउने क्रममा प्राविधिक गढबडी उत्पन्न भई ०६४ चैत २७ गते बेलुका करिब ७ बजे बम विस्फोट भएको थियो। बम विस्फोटनबाट इद्रिसको घरको छाना पूरै नष्ट भएको पीडितहरूको भनाइ रहेको थियो। बम विस्फोटनलगत्तै सो स्थानमा स्थानीय व्यक्तिहरू, प्रहरी घटनास्थलमा जान सकेका थिएनन्। घटना भएको घटनाको विवरण लिन कुनै पनि संघसंस्थालाई बम विस्फोट भएको घरमा जान दिइएको थिएन।
निर्वाचनमा बुथ क्याप्चर गर्नका लागि नेपाल र भारतबाट बम बनाउन मानिसहरू ल्याएका र बम बनाउँदै गर्दा प्राविधिक गडबडी भएका कारणले बम विस्फोट भएको र विस्फोट हुँदा आलमका काका स्व. सेख इद्रिसको घरको छाना पूरै उडेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ रहेको छ।
बम विस्फोटनबाट रौतहट सरुअठा गाविस–२ का श्रीनारायण सिंहका छोरा २२ वर्षीय पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंह, रौतहट सरुअठा गाविस–९ का जगर मिंयाका छोरा २३ वर्षीय वसिअख्तार मिंया कवाडी र नाम ठेगाना खुल्न नसकेका भारतीय नागरिक एक जनाको घटनास्थलमा नै मृत्यु भएको र केही मानिस घाइते भएको विभिन्न राजनीतिक दल तथा स्थानीय बासिन्दा तथा पीडितका परिवारको भनाइ रहेको छ।

घटना लुकाउन आलमले आफ्नो घरभन्दा उत्तरतर्फको मुस्ताक राजाको इटाभट्टामा उनीहरूको शव लगेर हालिदिएको स्थानीय व्यक्ति तथा अन्य राजनीतिक दलका मानिसहरुको भनाइ रहेको पाइयो। प्रहरीले १७ गतेसम्म बम विस्फोटन नभएको, घटनास्थल सावित हुन नसकेको र बम विस्फोटन भएको नपाइएको जनाएको थियो। घटनास्थल देखाउन पीडितले वैशाख १८ गते मानव अधिकारकर्मी र प्रहरीलाई साथै लिएर गएका थिए। घटनास्थल पुग्दा महमद अफताव आलमकाका राजपुरस्थित स्व. काका शेख इद्रिसको खलिहान घरको छानामा स्पष्ट रुपमा नयाँ खपटाले छाएको, नयाँ बाँसको वात्ता घरको छानाको केही भागमा प्रयोग भएको, घरका भित्ता चर्केको तथा नयाँ पर्खाल लगाएको र घरमा नयाँ भुस राखिएको थियो।
घरमा राखिएको भुस निकाली हेर्न भन्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षलाई स्थानीय बासिन्दाले आक्रमणको प्रयास गरेका थिए। घटनास्थलको बारेमा १७ गतेसम्म प्रहरीलाई जानकारी नहुनु र अध्ययनको क्रममा पीडितले वैशाख १८ गते प्रहरीलाई समेत लिएर गएको मानव अधिकारकर्मीको टोलीलाई भुस निकाली तथ्य बुझ्न खोज्दा पीडित महिला र अध्ययनमा टोलीका सदस्यलाई आक्रमणको प्रयास हुनुले घटनालाई थप रहस्यमय बनाइदिएको छ।

पीडितले देखाएको बम विस्फोटन भएको भनिएको घरको विवरण जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी लक्ष्मण न्यौपानेलाई जानकारी गराउँदा घटना भएको देखिन आएको उल्लेख गरेका थिए। यद्यपि, सोही दिन एसपी न्यौपानेले घटना भएको भन्ने कुरा सनाखत हुन नआएको भन्ने भनाइ व्यक्त गरेका थिए। उक्त घटनाको नेपाली कांग्रेस बाहेकका सबै राजनीतिक दलहरूले निष्पक्ष छानविनका लागि आह्वान गरेका थिए। घटना लुकाउन आलमले घाइते भएकाहरूलाई भारतको अज्ञात स्थानमा लगी उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ रहेको छ।
इन्सेक लगायत मानव अधिकार संस्थाको रोहवरमा घटनामा मृत्यु भएकाहरूमध्ये वसि अख्तर मियाकी आमा रुक्साना खातुन र पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंहका पिता श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय, रौतहटमा महमद अफताव आलमसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। हुलाक मार्फत दिइएको जोहरी प्रहरीले ९ दिनपछि ०६५ वैशाख १८ गते पीडित पक्षबाट सनाखत गराई जाहेरी दर्ता गरेको छ।

घटनाका प्रारम्भिक तथ्यहरू
- नेपाली कांग्रेसका उम्मेदवार मोहमद अफताव आलामले आफ्नो चुनाव प्रचार प्रसारमा चैत २० गते रौतहट सरुअठा गाविस–२ का श्रीनारायण सिंहको छोरा २२ बर्षीय पिन्टु सिंह भन्ने त्रिलोकप्रताप सिंह, रौतहट सरुअठा गाविस–९ का जगर मिंयाको छोरा जिल्ला २३ बर्षीय वसि अख्तर मिया कवाडीलाई लगेको पाइयो।
- चैत २७ गते राजपुरस्थित शेख इद्रिसको खल्यानको घरमा अफतावले जम्मा पारी राखेको बम विस्फोट भएको र घटनामा तत्काल तीन जनाको मृत्यु भएको र केही संख्यामा सहयोगी मानिसहरू घाइते भएको र घाइतेहरूलाई पनि मृतकहरूसँगै इटाको चिम्नीमा जिउँदै फालिएको गुनासो पीडितका परिवारहरूबाट सुनियो।
- घाइते पिन्टु सिंह र वसिअख्तर मिया कवाडीलाई इँटाभट्टामा जलाएको घटनाका प्रत्यक्षदर्शी एकजनाको भनाइ रहेको पाइयो।
- पीडितका परिवारले घटनामा मोहमद अफताव आलम र चार जनाविरुद्ध हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पाइयो।
- घटनालाई मिलाउन मोहमद अफताव आलमले पीडित पक्षलाई २ लाख रुपियाँ दिन खोजेको र पीडित पक्षले १० लाख रुपियाँ मागेको भन्ने भनाइ जिल्ला प्रहरी कार्यालय, रौतहट गौरका एसपी लक्ष्मण न्यौपानेको रहेको पाइयो।
- पीडितहरूले प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको, घटना राजनीतिकरण भएको र उजुरी लिन अस्वीकार नगरेको, घटना छानबिन गर्न घटना भएको केही मिनेटपछि पुग्दा पनि बम पड्केको कुनै संकेत नपाइएको एसपी न्यौपानेको भनाइ पाइयो।
- पीडित, मानव अधिकारकर्मी र प्रहरीहरूले घटनास्थल पुगेपछि पीडित पक्षले देखाएको महमद अफताव आलमका राजपुरस्थित स्व. काका शेख इद्रिसको खल्यानको घरको छानामा स्पष्ट रुपमा नयाँ खपटाले छाएको, नयाँ बाँसको वात्ता घरको छानाको केही भागमा प्रयोग भएको, घरका भित्ता चर्केको तथा नयाँ पर्खाल लगाएको र घरमा नयाँ भुस राखिएको स्पष्ट रुपमा देखियो।
- सो प्रमाणहरू लिएर पुनः जिल्ला प्रहरी कार्यालय, रौतहटमा प्रहरी उपरीक्षक न्यौपानेलाई देखाउँदा उनले घटना भएको प्रस्तुत विवरणहरूले पुष्टि गरेको स्वीकारेको र उक्त कुरा प्रहरीले आफूलाई पहिला जानकारी नगराएको भन्ने भनाइ रहेको थियो।
- घटनास्थल राजपुर फरहदवा गाविस वडा नं ४ का कुनै पनि बासिन्दाले घटना सम्बन्धमा केही बताउन नचाहेको र चाहेर पनि बताउन सक्ने अवस्था नदेखिएको।
यो प्रारम्भिक तथ्यहरूको आधारमा सरकारले तत्काल विज्ञहरूको संलग्नतामा उच्चस्तरीय छानबिन समिति/आयोग गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्न हामी सम्पूर्ण मानव अधिकारकर्मीहरू माग गर्दछौँ।

पीडितहरूको भनाइ
घटनाका एक प्रत्यक्षदर्शी-
अफ्ताब र सराज दुई जनाले मोहमद ओसि अख्तरलाई काम छ भनी जान भनेँ तर ऊ जान मानेन। जान नमानेपछि अख्तरलाई जबरजस्ती लगे। अख्तरलाई लगेपछि उनीहरूको पिछा गर्दै म पनि साइकलमा गएँ।
कांग्रेस उमेदवार मोहमद आफताब आलमको घरमा पुगेपछि अफतावले अख्तरलाई घरमा बसाल्यो र म गएपछि मलाई घरभित्र जान दिएन। मलाई बाहिर बस भने।
म बाहिर बसेँ र एक छिनपछि म अख्तर बसेको घरको झ्यालबाट हेर्दा घरभित्र बमको छली लागेको देखे। कसैले बम उठाएर हेरिरहेको थियो। कोही सिगरेट त कोही बिँडी तानिरहेका थिए। पुनः म त्यहाँबाट फर्केर बाहिर बसिरहेको अवस्थामा बम राखिएको घरमा विस्फोटन भयो।

कसरी बम विस्फोट भयो थाहा भएन। त्यतिखेर पिन्टु र अख्तर घाइते अवस्थामा बाहिर निस्केको देखेँ। ती दुवै जनाले हामीलाई अस्पताल पुर्याऊ भने। म त्यहाँ लिन जाँदा उनीहरू रिसाए अनि म त्यहाँबाट भागेँ।
राति भएकाले गहुँको खेतमा लुकेर बसेँ। राति १२ बजे डरले सुतिरहेको अवस्थामा अगाडि पुलिसको गाडी बीचमा ट्रयाक्टर र पछाडिमा रहेको पुलिसको गाडीमा कांग्रेस उमेदवार आफताव पनि थिए। ट्रयाक्टरमा घाइतेहरूलाई राखी चिम्नीमा लगे, घाइतेहरू रुँदै थिए। म त्यो देखेपछि म त्यहाँबाट भागेँ।

मृतक त्रिलोकप्रताप सिंहका बुवा नारायण सिंह–
चैत १९ गतेका दिन अफताव आलम र महताव आलम दुवै जना मेरो घरमा मेरो छोरालाई लिन आएका थिए। म खेतबाट आएको थिएँ। मैले सोधेँ, तपाईँहरू के भन्नुहुन्छ? उनीहरूले भन्नुभयो कि तपाईँको छोरा पिन्टुको बोली र भाषणमा आकर्षण छ, मान्छेहरू आकर्षित हुन्छ।
उसलाई जान दिनूस्, मैले भने मेरो छोरा जाँदैन, मैले छोरालाई रिसाएर घरको बारदली (दरबजा) बाट हप्काएर फर्काइदिएँ।
फेरि भोलिपल्ट २० गतेका दिन उनीहरू छोरालाई लिन खेतमा गएको थियो। त्यसै दिन आफतावका मान्छेले घरमा कोही नरहेको मौका छोपी, मेरो अनुपस्थितिमा मेरो छोरालाई लगे। बेलुका खेतबाट फर्केर घर आएँ। घरमा श्रीमतीले छोरालाई अस्ती आएका मानिसले लगेको बताइन्।
म भोलिपल्ट २१ गतेका दिन फरदवामा गएर आफ्नो छोराको विषयमा सोधपुछ गरेँ।
अफतावले तिम्रो छोरा क्षेत्रमा प्रचार प्रसारमा गएको छ। छोरालाई केही हुँदैन। तपाईँ घर जानूस् भनेपछि म घर फर्किएँ।
एकदुई दिनपछि त्यहाँ गएँ। फेरि त्यही कुरा भन्यो। छोरा चुनाव प्रचार प्रसारमा रहेको भनेकाले छोरासँग भेट भएन।
२७ गतेका दिन यो घटना भयो। २८ गते मैले आफ्नो घरमा सुतिरहेको बेला मेरो भाइ राजेश्वर सिंहले मलाई आएर भन्यो कि राजपुरमा यस्तो घटना घटेको छ। म रुक्साना खातुनको घर सोरहौटा–९ भन्ने गाउँमा गएँ। त्यहाँ जाँदाखेरि रुक्साना र उनको बुहारी रुन कराउन थालेको थियो।

त्यहाँका स्थानीय मान्छेले तपाईँको छोरा पनि सोही घटनामा परेको छ भने। म पनि रुँदै कराउँदै आफ्नो घर आएँ।
सबै घरमा बेहोस भए। छोराको आमालाई दुई बोतल सलाइन दिनुप¥यो। आफतावको मेरो गाउँमा नाता पर्छ, गाउँमा अफतावको विपक्षमा कसैले बोल्न पनि पाउँदैन र बोल्नेलाई धम्कीसमेत दिन्छ। विभिन्न प्रकारको यातना पनि दिन्छ। त्यसै कारणले त्यस गाउँको मान्छेहरू उहाँसँग धेरै भयभीत बनिरहेका छन्।
आफतावको गाउँमा मेरो माइती पर्छ। त्यहाँबाट आएका मानिसले ‘तिम्रो छोराको अवस्था राम्रो थियो, तपाईँको छोरा घर जान खोजिरहेको थियो, मलाई सानो घाउ छ, म घर जान सक्छु’ भन्थे तर अफतावको भाइ डा. समीरले इन्जेक्सनमा जहर हाली मेरो छोराको नसामा दिएको थाहा पाएँ।
मेरो छोरा मर्ने अवस्थामा थिएन। ५० लाख रुपियाँ प्रशासनका अधिकृतहरुलाई दिएर घटना लुकाउन खोजिएको थाहा भएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई उचित कारबाही भएको देख्न पाऊँ। हामीलाई क्षतिपूर्ति दिलाउनका लागि सादर अनुरोध गर्दछु।

मोहमद ओसि अख्तरकी आमा रोक्साना खातुनः
म घरमा थिइनँ। म भोट माग्न गाउँमा गएको थिएँ। म घर फर्केर आउँदा रातो गाडी घर अगाडि लागेको थियो। छोरा सुतिरहेको थियो। मैले छोरालाई भनेँ, रातो गाडी घरअगाडि लागेको छ।
छोरा बाहिर गए र फर्केर आई गाडीमा अफताव र सेराज रहेको बताए। उनीहरूले मलाई जान भनिरहेको छ। मैले नजान भनेँ। उनीहरू रौतहट २ नं. को उमेदवार हो, हामी १ नं. का छौँ, भोटमा नजाऊ, कुनै घटना गर्छ कि भनेर नजान भनेँ।
मलाई केही हुँदैन, म चोकबाट फर्केर आउँछु भनेर गएको छोरालाई चोकमा लगेर छाडिदिए तर त्यसको भोलिपल्ट फेरि उनीहरू आएका रहेछन्।
म भोट माग्न गएको थिएँ। रातो गाडीसहित दुईवटा गाडीमा आएका सराज मोफताजले मोटरमा जबरजस्ती चढाएर छोरालाई लगेको रहेछ।
त्यसको भोलिपल्ट पिन्टु र मेरो छोरा अख्तर मरेको खबर पाएँ। मेरो छोरा जिउँदै थियो। पानी खान मागिरहेको थियो भने उपचारको लागि अस्पताल लान भनेको रहेछ। जर्नेलको छोरा समीरले पानी स्लाइन गरेको खबर सुन्नेबितिकै म बेहोस भएँ।
मेरो छोरा घाइते अवस्थामा ल्याइदिए पनि म उपचार गराउँथेँ। अपांग भए पनि मेरै छोरा थियो, म पाल्न सक्थेँ। मलाई आलमले ‘गल्ती भयो, यसको लागि खेत र २ लाख ५० हजार रुपियाँ दिन्छु, काठमाडौँ नजाऊ’ भनेर भने।
यदि काठमाडौँ गए घरमा आगो लगाइदिने, मार्ने धम्की दिएको छ।



Shares

प्रतिक्रिया