राजनीति


आगामी अध्यक्ष पनि केपी ओली नै, विद्या भण्डारीलाई रोक्नुपर्छ: उमा कोइराला

आगामी अध्यक्ष पनि केपी ओली नै, विद्या भण्डारीलाई रोक्नुपर्छ: उमा कोइराला

शनिबार सिन्धुलीमा धारणा राख्दै एमाले केन्द्रीय सदस्य उमा कोइराला


नेपालखबर
असार १४, २०८२ शनिबार ११:२७, सिन्धुली

नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीले नै निरन्तरता पाउनुपर्ने बताएकी छन्।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने चर्चा भइरहेका बेला अध्यक्षमा ओलीको विकल्प नभएको जिकिर गरेकी हुन्। 

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार सिन्धुलीमा आयोजित माल्यार्पण सभामा कोइरालाले भनिन्, ‘अबको अध्यक्ष पनि केपी ओली नै हुन्। अहिले विद्याजीको नाम अघि ल्याउनु आवश्यक छैन। विद्या जीलाई अगाडि ल्याएर राजनितिक रोटी सेक्न केही साथीहरू लाग्नुभएको छ। त्यो अहिले सम्भव छैन। अब हुने विधान महाधिवेशन र ११औँ महाधिवेशनले पुनः केपी ओलीलाई नै अध्यक्ष बनाउनेमा विश्वास लिएको छु।’

उनले पार्टीभित्रका असमझदारी र गुटगत गतिविधिका विषयमा पनि टिप्पणी गरिन्। 

उनले भनिन्, ‘पार्टीमा समस्या र असमझदारी पर्न सक्छ, तर आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्छ। बाहिरचाहिँ एकताको सन्देश दिनुपर्छ।’

कोइरालाले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्। 

भनिन्, ‘मदनको विचार र ओलीको नेतृत्व नै आजको आवश्यकता हो।’

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आज एमालेले देशभर कार्यक्रम गरिरहेको छ। 

आज काठमाडौँको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, पूर्वराष्ट्रपति भण्डारीलगायत शीर्ष नेताहरूको सहभागितामा विशेष कार्यक्रम हुँदै छ।

उक्त कार्यक्रममा ओली र भण्डारीले दिने सम्भावित सन्देशले पार्टीभित्रको नेतृत्व बहसमा थप ऊर्जा दिने अनुमान गरिएको छ।

कार्यक्रमको पूर्वसन्ध्यामा सार्वजनिक ‘जनताको बहुदलीय जनवाद- मदनको नीति, विद्याको नेतृत्व’ भन्ने पोस्टरले पार्टीभित्र नयाँ बहस सिर्जना गरेको छ।

तर कोइरालाले स्पष्ट रूपमा ओलीकै निरन्तरताका पक्षमा मत राखेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममार्फत आफू पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गर्ने तयारी गरेकी छन्। 

सम्बन्धित थप सामग्री:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad