राजनीति


निलम्बन फुकुवापछि विन्दा पाण्डेसँग ‘तत्कालै’ : ओली अध्यक्षमा उठ्न र भण्डारीलाई रोक्न मिल्दैन (भिडिओ)


अनिल यादव
असार १३ , काठमाडौँ

नेपालको कम्युनिस्ट आन्दोलनमा आन्तरिक लोकतन्त्रको सवाल नयाँ होइन, तर पछिल्लो समय नेकपा एमालेभित्र यो बहस पेचिलो बन्दै गइरहेको छ। विधान महाधिवेशनको तयारीमा एमालेभित्र ७० वर्षे उमेर हद र कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था बहसको विषय बनेको छ। कतिपय एमालेकै पदाधिकारी तहका नेताले दुई कार्यकालको व्यवस्था चितवन महाधिवेशनबाटै खारेज भइसकेको बताइरहेका छन्। 

तर, नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डे यो अभियानका थालनीकर्ता अध्यक्ष केपी शर्मा ओली नै रहेको र यो व्यवस्था नहटेको बताउँछिन्। 

‘म चाहिँ यो व्यवस्था हटेको छैन भन्छु,’ नेपालखबर ‘तत्कालै’मा शुक्रबार साँझ विन्दा पाण्डेले भनिन्, ‘अहिले पनि तपाईं नेकपा एमालेको वेबसाइटमा रहेको सङ्गठनात्मक प्रस्ताव र विधान हेर्नुभयो भने त्यसमा दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति मूल नेतृत्वमा रहन हुँदैन भन्ने कुरा लेखिएको छ। महाधिवेशनले व्यवस्था गरेको कुरा सचिवालयले हटाएर हट्दैन। यो विषय अब आउने महाधिवेशनमा छलफलको विषय होला। तर त्योभन्दा पहिल्यै विधानबाट हटिसक्यो भनेर कसैले पनि भन्न मिल्दैन। किनभने विधानभन्दा माथि कोही पनि छैन।’

एमालेभित्र फेरि ओलीले नै पार्टी नेतृत्व गर्ने तयारी गरिरहेका बेला पाण्डे यसमा सहमत छैनन्। यो ओलीकै अभियानको बर्खिलाप हुने उनको तर्क छ। 

‘जहाँसम्म अब आउने महाधिवेशनमा केपी कमरेड नै हो कि अरू भन्ने प्रश्न अहिले उठिरहेको छ,’ उनले भनिन्, ‘अरुको सन्दर्भमा भन्न मिलेन तर केपी कमरेड त आफैँ यो विषयको अभियन्ता नै हो। एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहिराख्नु हुँदैन भन्ने कुराको उठान गर्ने व्यक्ति नै उहाँ हो। किताबै लेख्नुभएको छ उहाँले। यसैले अरूले प्रश्न उठाए पनि अध्यक्ष कमरेडले चाहिँ दुईपल्टभन्दा बढी निरन्तर त्यो पदमा रहिरहने कुरा गर्न मिल्दैन जस्तो लाग्छ। र, त्यस्तो गर्नु हुन्छ जस्तो पनि मलाई लाग्दैन।’

लगत्तै उनले थपिन्, ‘अब उहाँले के भन्दा रहेछन् त भन्ने हिसाबले कतिपय बेलामा म बीस वर्ष, पच्चीस वर्ष हैन, मेरो जुँगा कालो हुँदैछ भन्ने लगायतका कुरा गर्नुभएको छ। तर उहाँ आफैले त्यत्रो अभियान गरेको कुराको विरुद्धमा आफै फेरि अर्को कार्यकाल पनि अध्यक्ष हुनुपर्छ भन्ने कुरा गर्नुहुन्छ जस्तो लाग्दैन अन्तिममा गएर। बरु अब कसलाई नेतृत्वमा ल्याउने, त्यो सबभन्दा धेरै त उहाँले नै सोच्नुपर्छ। नयाँ नेतृत्व कस्तो हुनुपर्छ, कसरी काम गर्नुपर्छ भन्ने कुरामा सबभन्दा ठूलो दायित्व उहाँकै हुन्छ। बाँकी निर्णय गर्ने भनेको त महाधिवेशनले नै हो।’

नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते निलम्बनमा परेकी पाण्डेको बुधबार निलम्बन फुकुवाको खबर बाहिरिएको छ। तर, पाण्डेले आफ्नो कारबाही फुकुवाबारे खबर मिडियाबाट मात्र थाहा पाएको बताइन्। 

‘यसमा अहिले कुरा गर्ने बेला भइसकेको छैन भन्छु म,’ उनले भनिन्, ‘किन भन्दा फुकुवा भयो भन्ने नै मिडियाबाटै थाहा पाएको हो। पार्टीबाट औपचारिक हिसाबबाट पत्र आइसकेको छैन। पहिला पनि सचिवालयले निर्णय गरेर केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो। अब अहिले नि सचिवालयले निर्णय गरेपछाडि नै कार्यान्वयन हो कि अब फेरि केन्द्रीय कमिटीले अनुमोदन गर्न कुर्ने भन्ने कुरा पनि क्लियर छैन।’

हामीले पाण्डेलाई सोध्यौँ– ‘अब पार्टी अध्यक्ष केपी शर्मा ओलीको झोला बोक्न तयार हुनुभयो हैन त?’

जवाफमा उनले भनिन्, ‘हैन, म त पार्टीको नीति र कार्यक्रम बोकेर हिँडेको हो सुरुदेखि। म त्यही नै बोकेर हिँडिराछु।’

अध्यक्ष ओलीको ‘म झोले हुँ’ अभियानबारे जिज्ञासा राख्दा उनको जवाफ छ, ‘त्यो अभियान मनपर्ने साथीहरूले चलाउनुभयो। यसमा मेरो सहमति–असहमति भन्दा पनि त्यो पोस्टतिर म लागिनँ, लाग्दिनँ पनि। म नीति कार्यक्रम बोकेर हिँडेको, परिवर्तनको लागि हिँडेको मान्छे हो।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने तयारीबारे जिज्ञासा राख्दा पाण्डेले यसमा भण्डारीबाटै औपचारिक घोषणा भएपछि मात्रै धारणा बनाउन मिल्ने बताइन्। 

‘अहिले नै कसरी लिने भन्ने ठाउँमा पुगिसकेको छैन म,’ उनले भनिन्, ‘किनभने अहिले बाहिर–बाहिर पात हल्लिएको मात्रै छ। उहाँबाट अहिलेसम्म पनि क्लियर भएको छैन। सबैभन्दा पहिला उहाँ आफूले क्लियर गर्नुप¥यो। उहाँले घोषणा नगरीकन हामीले बीचबीचमा बोल्नुको अर्थ हुँदैन।’

बुधबारको एमाले सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले विधानमै निषेधकारी व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने प्रस्ताव गरेकोबारे जिज्ञासा राख्दा पाण्डेले भण्डारीलाई पार्टीमा आउनबाट कसैले रोक्न नसक्ने बताइन्। 

‘त्यो सम्भवै नहुने खालको कुरा हो। महासचिवले उठाउनुभयो जस्तो नि मलाई लाग्दैन। उठाउनुभएको भए यस्तो कुरो उठाउने नि हुन्छ महासचिवले?’ पाण्डेको प्रश्न छ। 

हेर्नुहोस्, निलम्बन फुकुवा, एमालेको आन्तरिक लोकतन्त्र, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने चर्चालगायत विषयमा केन्द्रित रहेर पाण्डेसँग गरिएको नेपालखबर ‘तत्कालै’ :

फोटो÷भिडिओः सरोज नेपाल
 

असार १३, २०८२ शुक्रबार २२:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad