नेकपा एमालेमा विद्या भण्डारीले सक्रिय राजनीति प्रवेशको घोषणा गर्नुअघि सामाजिक सञ्जालमा उनका पक्षमा अभियान चलाइएको छ।
विद्या भण्डारी समर्थकले ‘जनताको बहुदलीय जनवाद: मदनको नीति, विद्याको नेतृत्व’ नारासहितका पोस्टर सामाजिक सञ्जालमा छरिरहेका छन्।
जनताको बहुदलीय जनवाद एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीले ल्याएको राजनीतिक कार्यक्रम हो। एमालेले यसैलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ। २०५० जेठ ३ गते उनको चितवनको दासढुंगामा रहस्यमय सवारी दुर्घटनामा निधन भएको थियो।
मदन भण्डारी र विद्या भण्डारीको तस्बिरसहित भोलि हुने भनिएको मदन भण्डारी फाउन्डेसनको कार्यक्रमको जानकारी पनि पोस्टरहरूमा राखिएको छ।
मदन भण्डारी फाउन्डेसनले भोलि असार १४ गते बृहत् कार्यक्रम गर्दै छ। भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसर पारेर फाउन्डेसनले भृकुटीमन्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा राखेको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाएको छ।
कार्यक्रममा विशेष अतिथि पूर्वराष्ट्रपति भण्डारी छिन्। मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी मदन र विद्याकी छोरी हुन्।
मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुन्छन् कि हुँदैनन्?
पूर्वराष्ट्रपति भण्डारीले भोलि नै सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गर्ने तयारी छ।
ओली र उनका पक्षधर नेताहरूले भने राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किन नहुने बताइरहेका छन्।

Shares

प्रतिक्रिया