राजनीति


विद्या भण्डारीलाई रोक्ने शंकर पोखरेलको प्रस्तावले एमालेमा हलचल

नेम्बाङको नजिरले भण्डारीलाई सजिलो
विद्या भण्डारीलाई रोक्ने शंकर पोखरेलको प्रस्तावले एमालेमा हलचल

सागर न्यौपाने
असार १३, २०८२ शुक्रबार २१:१, काठमाडौँ

निकटस्थहरू ठोकुवा गर्छन्– नेकपा एमालेमा १० वर्षपछि फर्किएर नेतृत्व लिन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा माहोल बन्दै गएको छ। भन्छन्– अहिले एमालेको सचिवालयमा रहेका बहुमत सदस्य भण्डारीको पक्षमा खुलिसके।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रष्टसँग खुलिसकेका छन्। मदन भण्डारी फाउन्डेसनमार्फत् राजनीतिक गतिविधिलाई देशव्यापी लैजाने तयारीमा छन् उनी।

नेताहरूले नेपालखबरलाई दिएको जानकारी अनुसार ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी एउटै पदमा उठ्न नपाउने प्रावधानलाई फेरि विधानमा राख्न पोखरेलले छलफल चलाइसके। र, यो सबै गर्नुको एउटै कारण हो–विद्यादेवी भण्डारीलाई आगामी महाधिवेशनबाट एमालेको अध्यक्ष बनाउनु।

पोखरेल मात्र होइन, अरू पदाधिकारी पनि भण्डारीलाई एकपटक हेर्नुपर्ने पक्षमा उभिइसकेको उनीहरूको भनाइ छ।

उपाध्यक्षदेखि सचिवसम्मका पदमा रहेका नेताहरूले भण्डारीकै पक्षमा माहोल बनाइरहेको तर खुलेर आइनसकेको उनीहरूको भनाइ छ। आगामी साउन ५ गते राखिएको केन्द्रीय समिति बैठकबाट बाँकी नेताहरूले कित्ताकाट भण्डारीका निकटस्थहरू बताउँछन्। 

एमालेको ३५२ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष केपी शर्मा ओलीको बहुमत छ। त्यही भएर निर्णय ओलीले चाहेअनुसार हुन सक्छ। तर, भण्डारीको पक्षमा उल्लेख्य नेताहरू उभिए भने एकल निर्णय गर्दै आएका ओलीका लागि धक्का मात्र लाग्ने छैन, आगामी महाधिवेशन चुनौतीपूर्ण बन्ने देखिन्छ।

सम्भवतः यही कुरा बुझेका महासचिव शंकर पोखरेलले भण्डारीको बाटो छेक्ने व्यवस्था विधानमै राख्ने प्रस्ताव गरेका छन्। असार ११ गते बसेको एमालेको सचिवालय बैठकमा पोखरेलले राखेको यस्तो प्रस्तावले पदाधिकारीहरू झस्किएका छन्। 

भण्डारीलाई रोक्नेगरी तल्लो तहसम्म सर्कुलर गरिएको उनीहरू आशंका गर्छन्। 

विधान महाधिवेशनको एजेन्डामा छलफल हुँदै गर्दा पोखरेलले त्यस्तो प्रस्ताव राखेको एमालेका एक उपाध्यक्षले जानकारी दिए।

‘विद्या भण्डारीजीको बारेमा प्रसंगवश कुरा उठाएर महासचिवजीले दुईदुईपटक राष्ट्रपति भएको मान्छे, त्यो तहमा पुगेको मान्छे पार्टी तहमा सक्रिय हुनु राम्रो होइन, यसले गणतन्त्रलाई नै कमजोर बनाउने स्थिति पनि आउन सक्छ, त्यही भएर उहाँलाई रोक्नेगरी विधानमै त्यस्तो केही व्यवस्था गर्नुपर्छ होला भन्ने प्रस्ताव गर्नुभयो,’ उनले नेपालखबरसँग भने।

महासचिव पोखरेलबाट हठात् आएको प्रस्तावलाई कुनै पनि पदाधिकारीले वीकार नगरेको ती उपाध्यक्ष दाबी गर्छन्। सुरेन्द्र पाण्डे लगायतका नेताले महासचिवको प्रस्तावप्रति विमति राखेको उनले बताए।

‘विद्या भण्डारी सक्रिय राजनीतिमा आउने, तर कुन पदमा आउने त खुलाउनुभएको छैन। खाली आफू सक्रिय हुन चाहेको मात्र कुरा गरिराख्नुभएको छ,’ पाण्डेको भनाइ उनले उधृत गरे, ‘आउनेनआउने उहाँको कुरा भयो, उहाँ सक्रिय भएर पार्टी काममा लाग्नु भयो भने रोक्न मिल्दैन। त्यो किसिमको विधान बनाउनु हुँदैन। हाम्रो संविधान, पार्टी विधान र संसारको अभ्यास हेर्ने हो भने आवश्यकताका आधारमा आउनेनआउने भन्ने कुरा हुन्छ। हामीले विधानमै आउन नमिल्ने भनेर लेख्न मिल्दैन।’

महाधिवेशनमा फेरि ओली नै अध्यक्ष उठ्न लागेको भएर महासचिवले सो प्रस्ताव राखेको हुनसक्ने भण्डारीनिकटहरू बताउँछन्।

यद्यपि, सचिवालय बैठकमा महासचिवको प्रस्तावलाई ओलीले समेत अस्वीकार गरेको अर्का पदाधिकारी बताउँछन्।

‘अध्यक्षले पनि त्यस्तो गर्नु हुँदैन भन्नुभयो,’ ती पदाधिकारीले भने, ‘त्यसपछि महासचिवको प्रस्ताव त्यत्तिकै भयो।’

सचिवालय बैठकले विधान संशोधन गर्ने जिम्मा विष्णु पौडेललाई दिएको छ।

महासचिवको प्रस्तावको तरंग
सिधै भण्डारीलाई रोक्नकै लागि पार्टी विधानमा व्यवस्था गर्नुपर्ने महासचिव पोखरेलको प्रस्तावले दुरगामी प्रभाव पार्ने भण्डारी पक्षका नेताहरूको भनाइ छ।

‘महासचिवले विद्या भण्डारीलाई रोक्न खोजेको देखियो। केही हिसाबकिताब होला जस्तो छ,’ भण्डारीको पक्षमा खुल्ने तयारीमा रहेका एक पदाधिकारीले भने। 

अध्यक्ष ओलीले महासचिवको प्रस्तावलाई नजरअन्दाज गरे पनि भित्रभित्र केही नेता भण्डारीलाई रोक्नेगरी लागिसकेको दाबी पनि उनले गरे।

‘उहाँले बैठकमै त्यसरी प्रस्ताव ल्याएपछि त उहाँहरू तलैसम्म रोक्ने अभियानमा हुनुहुन्छ भन्नेकुरा प्रस्टै भयो,’ उनले थपे, ‘उहाँले छ्वास्स त्यो उठाउनुभयो, त्यहीँ सेलायो। तर, त्यो हेर्दा उहाँहरूसहित केही नेता लाग्नुभएको छ भन्ने देखियो।’ 

उपाध्यक्ष गुरु बरालले पनि फरक प्रसङ्ग र सन्दर्भमा विद्या भण्डारीको कुरा उठेको स्वीकार गरे।

‘पार्टीलाई राम्रो बनाउन विचार आउँछन्। तर, निर्णय जे हो, मूल कुरा त्यही हो,’ बरालले भने, ‘जसरी बाहिर आयो त्यस्तो होइन। पार्टीलाई बलियो बनाउन के गर्न सकिन्छ भन्ने अर्थमा महासचिवले भन्नुभएको हो।’ 

एमालेमा आवश्यक पर्‍यो भने सबैले स्वागत गरेर भण्डारीलाई ल्याउने उनले बताए।

‘विद्या भण्डारी र केपी ओलीबीचको विभाजन ल्याउने साथीहरूले जुन खेलो गर्दैछन्, यो खतरनाक डिजाइन हो। अहिले यतिखेर मिसन ०८४ पूरा गर्नु छ, बहुमत ल्याउनुपर्ने छ, सानामसिना कुरामा अल्झिने बेला हो र!’ बरालले असन्तुष्टि जनाए।

एमालेमा पहिल्यै छ नजिर 
एमालेमा संवैधानिक पदमा बसेका नेताहरू पार्टीमा फर्केर काम गरेको दृष्टान्त यसअघि पनि छ। तीमध्ये सुवास नेम्बाङ पनि एक हुन्। 

२०६५ देखि २०७२ सम्म संविधान सभाको अध्यक्ष रहेका नेम्बाङ त्यसपछि एमालेमा सक्रिय भएर उपाध्यक्ष बनेका थिए। २०८० साल भदौ २६ गते उनको निधन भएको थियो। 

यही नजिरका कारण पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आएर फेरि सक्रिय हुन कुनै बाधा नहुने निकटस्थहरूको तर्क छ।

‘पहिला सुवास नेम्बाङ लामो समय संविधान सभाको अध्यक्ष हुनुभयो। पछि उहाँ पार्टीमै फर्किएर उपाध्यक्ष भएर काम गर्नुभयो नि त, त्यो एउटा नजिर छँदैछ नि,’ एक नेताले भने। 

भण्डारीलाई रोक्न अनेक तिकडम हुने सम्भावना देखेपछि उनी निकटले एउटा अभियान थालेका छन्। शुक्रबारदेखि सामाजिक सञ्जालबाट भण्डारी समर्थकले ‘जनताको बहुदलीय जनवादः मदनको नीति, विद्याको नेतृत्व’ नारासहितका पोस्टर प्रचार गरेका छन्। 

जनताको बहुदलीय जनवाद एमालेका तत्कालीन महासचिव मदन भण्डारीले ल्याएको राजनीतिक कार्यक्रम हो। एमालेले यसैलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ। २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय सवारी दुर्घटनामा उनको निधन भएको थियो। विद्यादेवी भण्डारी मदन भण्डारीकी श्रीमती हुन्। 

२०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर उनी राष्ट्रपति बनेकी थिइन्। त्यसपछि उनी २०७४ फागुन २३ गते फेरि दोस्रोपटक राष्ट्रपति निर्वाचित भइन्। २०७९ फागुन २९ गते उनी पाँच वर्षे कार्यकाल पूरा गरेर शीतलनिवासबाट बाहिरिएकी हुन्। त्यसयता उनले एमालेमा सक्रिय हुनको लागि विभिन्न जिल्ला पुगेर नेता र कार्यकर्ता भेटिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad