राजनीति


शिक्षकसँगको सहमति कार्यान्वयनमा सरकार उदासीन देखियो: प्रचण्ड

शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएको तर्क
शिक्षकसँगको सहमति कार्यान्वयनमा सरकार उदासीन देखियो: प्रचण्ड

नेपालखबर
असार ९, २०८२ सोमबार ११:८, काठमाडौँ

नेपाल शिक्षक महासंघका पदाधिकारीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटारमा आज भेटवार्ता गरेका छन्।

भेटका क्रममा महासंघका प्रतिनिधिले सरकारले शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका छन्। प्रचण्डसँगको भेटका क्रममा उनीहरुले सरकार र शिक्षक महासंघबीच भएका सहमति तुरुन्त कार्यान्वयनका लागि विपक्षी दलको बलियो साथको अपेक्षा राखेको पनि बताएका छन्। 

शिक्षकका माग गुनासो र माग सुनेपछि प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताएका उनको सचिवालयले जनाएको छ। 

‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँगसमेत गाँसिएको छ,’ प्रचण्डले भने, ‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय गर्दा पनि सरकारले ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नपाओस् भन्ने सोचेका थियौँ।’

प्रचण्डले शिक्षकका जायज माग कुनै सर्तबिना तुरुन्त पूरा गर्नु पर्नेमा जोड दिए। उनले शिक्षक मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्ने प्रतिवद्धता पनि जनाए। 

प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नु पर्ने आवश्यकतामा उनले जोड दिए।

भेटमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व  शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पाैडेल लगाएत पनि सहभागी थिए।

भेटका क्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशाेर सुवेदीले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिन प्रचण्डलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad