लालबाबु पण्डित सादा जीवनमा रमाउने नेता मानिन्छन्। करिब २० दिनअघि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जीवन संघर्ष हो प्रिय, हामी पीडामा छौँ। सधैँ यस्तै रहँदैन। छिटो निको होस्।’
जीवन साथी विमला महत पण्डितलाई निको हुने आसमा थिए उनी। विगत डेढ वर्षदेखि विमलाको सेवामा अनवरत लागिरहेका उनले त्यसको ९ दिनपछि जेठ १५ गते सामाजिक सञ्जालबाटै लेखे, ‘मेरो जीवन संगिनी विमला महतले आज १२:४५ मा मलाई एक्लो बनाइन्, हार्दिक श्रद्धाञ्जली।’
विगत १२ दिनदेखि काठमाडौँको कोटेश्वरस्थित पण्डित निवासमा शून्यता छ। लालबाबु अहिले काठमाडौँको मनोहरा किरियापुत्री भवनमा छन्। १० औँ दिनसम्म समवेदना दिन आउनेहरूको भिडभाड थियो। उनले आफ्ना कुराहरू राख्थे, सुनाउँथे। अरूका कुरा सुनेर मन बहलाउने प्रयास गर्थे।
पत्नीवियोगको एघारौँ दिन सार्वजनिक भएको एउटा तस्बिर फरक पृष्ठभूमिको थियो।
सेतो पहिरन, अनुहारमा संयम, आँखामा गहिरो शून्यता र वरिपरि श्रद्धाञ्जलीका पत्रहरू। एक्लै ठिंग उभिएका लालबाबुको त्यस तस्बिरले शून्यतामा जीवनको अर्को अध्याय, जुन दुःख, सम्झना र श्रद्धाञ्जली पत्रहरूले भरिएको देखाउँथ्यो।
डेढ वर्षदेखि थलिएकी थिइन् विमला
एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि पत्नी विमलाको रेखदेखमा लाग्नुपरेका कारण सार्वजनिक कार्यक्रमहरूमा गुमनामप्रायः थिए। बेलाबेला सामाजिक सञ्जालमा भेटिन्थे। विमलालाई मायसाइटिस भन्ने रोग लागेको थियो। यसबाट थला परेकी पत्नीको सेवामा अनवरत उनी लागिरहे।
मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या मायसाइटिसले गराउँथ्यो।
पछिल्लो समय विमलालाई भाइरल संक्रमण भएको थियो। निजामती, मनमोहन, शिक्षण, वीर लगायतका धेरै अस्पताल पुर्याउँदा समेत विमलालाई बचाउन नसकेको दुःखेसो लालबाबुको छ।
एउटी छोरी मात्रै भएको कारण विमलालाई छाडेर हिँड्ने अवस्थामा उनी थिएनन्। श्रीमतीको स्याहारमा उनी सके जति लागे। छोरीले पनि सघाइन्।
‘काठमाडौँमा कोठाको बसाइँ, महँगो उपचार, आम्दानीको स्रोत छैन,’ पण्डित भन्छन्, ‘भएको रकम उपचारमा गइसक्यो तर विमलालाई बचाउन सकिनँ।’
उनी एमाले स्थायी कमिटी सदस्य हुन्। २०४८ सालयता ४ पटक सांसद भए, २ पटक मन्त्री नै बने। २०७९ को निर्वाचनमा भने उनलाई डा शेखर कोइरालाले हराएका थिए, मोरङ-६ बाट।
मृत्युमा पनि नसम्झिने परिवार
लालबाबु पण्डित र विमला महतको अन्तरजातीय विवाह भएको थियो। २०५९ सालमा बल्खुस्थित तत्कालीन नेकपा एमालेको पार्टी कार्यालयमा केही मानिसहरू भेला भए।
लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो। बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्। २०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्।
लालबाबुको सहमतिपछि ‘ए फोर साइज’को पेपरमा चारवटा निम्ता हुने गरी बिहेको निम्तो पत्र बनाए। त्यही फोटोकपी गरेर बाँडे। पार्टी कार्यालय, बल्खुमै जनवादी विवाह तय भयो।
बिहेको आयोजक मोरङ–काठमाडौँ सम्पर्क मञ्च बन्यो। प्रमुख अतिथि त्यसबेलाका महासचिव माधवकुमार नेपाल थिए। पार्टीका अरू नेताहरू पनि थुप्रै सहभागी भए। अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीहरू पण्डितको बिहेमा पुगेका थिए।
बिहे त गरे तर उनीहरूको विवाहलाई महत परिवारले स्वीकार गरेन, विवाह भएको २३ वर्षसम्म पनि।
विमलाले विद्रोह गरेरै बिहे गरेको कारण उनका माइती खुसी थिएनन्। ‘विवाह गरेपछि विमला सायद दुईचोटी गएकी हुन्,’ लालबाबु सम्झिन्छन्, ‘म पनि ससुराली एकचोटी मात्रै गएको हो।’
विमलालाई समय दिन नसकेकोमा उनलाई पछुतो छ।
‘विमला चाहन्थिन्, कहिलेकाहीँ घुम्न कतै जाऊँ, घरपरिवार र जीवनको कुरा गरौँ तर आफूले कहिल्यै समय दिन पाइनँ’, उनलाई अहिले थकथकी छ, ‘पारिवारिक घुमघाम भन्ने हाम्रो जिन्दगीमा कहिल्यै भएन।’
‘मैले अधिकांश समय पब्लिकमा नै बिताएँ, उनले जति समय मबाट खोजिरहेकी थिइन, त्यो अनुसारको समय दिन सकिनँ कि भनेर अहिले मिस हुन्छ,’ उनी भन्छन्।
लालबाबुको विराटनगरमा सानो एउटा घर भए पनि उनी अधिकांश समय काठमाडौँको भाडाको घरमै बसे। विमला चाहन्थिन्- काठमाडौँमा एउटा सानो घर होस्।
त्यो पूरा गर्न नसकेकोमा लालबाबु पश्चात्ताप मान्छन्।
Shares

प्रतिक्रिया