राजनीति


दुर्लभ रोगसँग जुधिरहेकी श्रीमतीको स्याहारमा लालबाबु, भन्छन्- सुख दिन सकिनँ, माया दिएकै छु

दुर्लभ रोगसँग जुधिरहेकी श्रीमतीको स्याहारमा लालबाबु, भन्छन्- सुख दिन सकिनँ, माया दिएकै छु

सुमन सुस्केरा
फागुन २७, २०८१ मंगलबार १९:०, काठमाडौँ

कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्। उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर।

केही दिनअघि उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै लेखेका थिए, ‘सुख धेरै दिन सकिनँ तर माया दिएकै छु। दुःखमा सँगै त छौँ! पिर नगर्नू है?’

भिडियोमा उनले खैरो कोट, ढाका टोपी अनि चिउँडोमा मास्क लगाएको देखिन्छ। पछाडिबाट ह्विल चियर धकेल्दै अघि बढ्दै थिए। ह्विल चियरमा उनकी जीवनसाथी विमला महत थिइन्।

उनले सञ्जालमा लेखेको अर्को भनाइ थियो, ‘कहिलेकाहीँ लाग्छ कि कसैकसैलाई सुख र खुसी धेरै नै टाढा छ कि?’

यो पनि उनको आफ्नै भोगाइ थियो।

पण्डितका दिनहरू अहिले घर, परिवार र श्रीमतीको सेवामा बितिरहेका छन्। केही दिनअघि मात्रै श्रीमतीलाई अस्पतालबाट घर ल्याएका उनी पनि थकित देखिन्छन्।

नेपालखबरले दैनिकीबारे जानकारी लिन खोज्दा उनले भने, ‘हस्पिटलको बसाइ लामो हुँदा बिरामी भएको छु। सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइराइडका औषधीहरू खाइरहेको छु।’

‘घरमा कोही बिरामी हुँदा त्यसको धपेडीले अन्य सदस्य पनि बिरामीजस्तै नै हुन्छन् नि,’ उनले थपे।

विमला करिब डेढ वर्षदेखि बिरामी छन्। उनलाई मायसाइटिस भन्ने रोग लागेको छ। यसले मांसपेसीलाई कमजोर बनाउँछ। मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या देखिन्छन्।

शरीर यसै कमजोर भएका बेला कहिले पिसाबमा संक्रमणले दुःख दिन्छ त कहिले डेंगु लागेर सताउँछ। कहिले भाइरल ज्वरोले थला पार्छ।

‘रोगले बढी च्यापेका बेला अस्पताल पुर्‍याउने र अरू समयमा घरलाई नै अस्पतालको रूपमा प्रयोग गर्नुपर्छ,’ बानी परिसकेको छ अहिले।

पछिल्लो हप्ता भाइरल संक्रमण भयो। निजामती कर्मचारी अस्पतालमा परीक्षणपछि मनमोहन शिक्षण अस्पतालमा ५ दिन राखे। त्यसपछि महाराजगन्जको मनमोहन कार्डियोथोरासिक सेन्टरमा ३ दिन राखेर सबै परीक्षण गराउनुपरेको थियो।

‘एकजना व्यक्ति यतिका अस्पतालमा दिनभरि रातभरि, सबै कामहरू गर्दा नर्मलभन्दा फरक भइहाल्छ,’ परिस्थितिसँग जुध्न गरिरहेको संघर्षबारे उनी भन्छन्, ‘एकातिर तनाव हुन्छ। अर्कोतिर खानपान बिथोलिन्छ। आराम भन्ने हुँदैन। त्यसैले अस्पताल बसाइँ सामान्य हुँदैन, हामी सबैले बुझेकै छौँ नि।’

उनी अहिले काठमाडौँकेन्द्रित छन्। उपत्यकाबाहिर निस्किएका छैनन्। लामो समय खर्च हुने पार्टीका काममा पनि जान पाएका छैनन्। उनी एमालेको स्थायी कमिटी सदस्य हुन्। २०४८ सालयता उनी ४ पटक सांसद भए भने २ पटक मन्त्री। पछिल्लो निर्वाचनबाट भने उनी संसदमा पुग्न सकेनन्।

‘घरमा परिवार बिरामी भएको कारण स्याहारसुसार गर्दा कहिलेकाहीँ आफैँ बिरामी हुन्छु, राजनीतिमा सक्रियता कम भएको छ,’ उनी सुनाउँछन्।

छोरीसहित तीन जनाको परिवार छ। सानो परिवार भएकाले पनि घर छाडेर हिँड्ने अवस्था छैन। घरमा मान्छे नै राखेर सुसारमा लगाउने आर्थिक हैसियत नभएकोले पनि खुवाउन, उठाउन, सुताउन, ओल्टाईपल्टाई गर्न तथा भेटघाटहरू व्यवस्थापन गर्न आफैँ खट्नुपरेको उनी बताउँछन्।

‘दिसापिसाब गराएर फाल्नुपर्ने र सरसफाइको काम पनि आफैँ गर्नुपर्ने भएकोले समय बितेको पत्तै हुँदैन,’ उनी भन्छन्।

काठमाडौँमा कोठाको बसाइँ, महँगो उपचार, आम्दानीको स्रोत छैन। भएको रकम उपचारमा गइसक्यो। 

अहिलेसम्म सबै उपचार सरकारी अस्पतालमै गरिएको छ। मिलेसम्म डाक्टरहरूले छुट गरिदिन्छन्। औषधीमा छुट दिएको बेलामा पनि उनी खुसी मान्छन्।

‘उपचार महँगो छ, त्यैपनि सबै उपचार सरकारी अस्पतालबाटै गराइराखेका छौँ,’ उनले भने, ‘यो उपचारमा औषधी र परीक्षण महँगो हुन्छ। बेलामा परीक्षण गरेर रिपोर्ट डाक्टरलाई देखाइएन भने त्यो पनि अप्ठ्यारो हुन्छ। आर्थिक जोडजाड र ऋणपान पनि गर्नुपर्ने हुन्छ।’

डाक्टरले दिएको तालिकाअनुसार नै अहिलेसम्म नियमित उपचार गराइएको उनले सुनाए। 

मायसाइटिस रोग १०–१५ लाख मानिसमा कोही एक जनालाई हुने खालको असाध्यै दुर्लभ भएको चिकित्सकहरूको भनाइ छ।

पण्डितका अनुसार, विमलाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न दलका नेताहरू भेट्न आएकै छन्।

‘जसले जे किसिमको सहयोग हुन्छ, बिरामी भेट्न आउँदा गरिने सामान्य खालको सरसहयोग भएकै छ, त्यस्तै छ,’ उनले भने।

‘कहिलेकाहीँ कोही साथीहरू आएर टेस्टको रकम तिरिदिनु हुन्छ, कहिले औषधी खरिदमा सहयोग पुर्‍याइदिनुहुन्छ,’ उनले भने, ‘यो डेढ वर्षको बीचमा ८ लाख खर्च भइसकेको छ। निजी ऋण २ लाख बढी भएको छ। खुद्राखाद्रीको त हिसाब गरेकै छैन। अझै कति लाग्ने हो हिसाबकिताब छैन।’

पारिवारिक समस्याका बीचमा पनि समय निकालेर अध्ययन गर्छन्। विभिन्न खालका बैठकहरू आफ्नो घर राख्छन्।

एमालेमा सम्पर्क समन्वय विभाग इन्चार्जको जिम्मेपारी पण्डितको काँधमा छ। कार्यक्रम पर्दा तालिकाअनुसार सके परिवारका सदस्यलाई, नभए महिला साथीहरूलाई कोठामा बोलाएर कार्यक्रम अवधिभरि सहयोग गरिदिन अनुरोध गर्छन्। 

छोरी एक्लैले मात्रै पनि घरमा केही गर्न नसक्ने भएको हुँदा आफू अनिवार्यजस्तै घरमा बस्नुपर्ने अवस्था रहेको पण्डितको भनाइ छ।

यसरी भएको थियो बिहे
२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो।

बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्। २०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्। भैँसेपाटीमा पर्ने त्यो क्षेत्र हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २५ भएको छ।

उनको नाम आएपछि लालबाबु पनि के कम? ‘त्यसो भए हुन्छ नि त’ भनेर सहमति दिए।

बिहे त गर्ने तर कसरी? उनलाई लागिरह्यो।

उनले बिहेको निम्तोपत्र ‘ए फोर साइज’को पेपरमा चारवटा निम्ता हुने गरी बनाए। त्यही फोटोकपी गरेर बाँडे। 

पार्टी कार्यालय, बल्खुमै जनवादी विवाह तय भयो। बिहेको आयोजक मोरङ-काठमाडौँ सम्पर्क मञ्च बन्यो।

प्रमुख अतिथि त्यसबेलाका महासचिव माधवकुमार नेपाल थिए। पार्टीका अरू नेताहरू पनि थुप्रै सहभागी भए। अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीहरू पण्डितको बिहेमा पुगेका थिए।

विमला पनि नेतृ भएकाले साथीहरूमार्फत नै चिनजान भएपछि जनवादी विवाह गर्न सजिलो भएको पण्डित सम्झन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad