राजनीति


सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १६:२६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुनधारामा प्राकृतिक रूपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन्।

काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र देशकै सबै भन्दा ठुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गरेकोमा स्थानीय बासिन्दाको तर्फबाट धन्यवाद पनि दिइएको छ। 

सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी सञ्चय कोषले वि.सं २०४४ मा दुई तल्ले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रूपले २४ सै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा ठुलो क्षति भएपछि स्थानीयवासीको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो।

पछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सा पासको प्रक्रिया नै पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्ने गरी सम्झौता भएको थियो।

अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभाबी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुलाउन स्रोत साधनको अभाव भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ। 

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनः निर्माण पूर्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय बासिन्दासँगको छलफलमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले महत्त्वपूर्ण सुनधारामा प्राकृतिक रूपले नै पानी आउने र निकास हुने तथा भूकम्पमा भत्केर बाँकी रहेको धरहराको भागलाई संरक्षण गरेर राख्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएकामा त्यसको पालना नभएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष राखेका छन्।

प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौँ महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad