राजनीति


स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजारले छोडे

स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजारले छोडे

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १६:३०, काठमाडौँ

स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ। मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो। पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रुपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन्। 

अध्यागमन कार्यालयकाअनुसार त्यसरी देश नै छाडेर विदेश बसाईंसराईं गर्नेहरुमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ। दुई वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रुपमै बसाईं सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन्। त्यस्तै त्यसरी बसाईं सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ। 

अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रुपमै विदेशमा बसाईं सरेर ७० हजार ९ सय १५ नेपाली गएका छन भने सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली सधैँ उतै बस्नेगरी गएका छन्। यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाईं सरिरहेको देखाएको छ। 

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेको बेला कतै हजारौँ नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ। तर देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन।

स्थायी मात्रै नभई अस्थायी रुपमा उतै बस्नका लागि पनि ठूलो संख्यामा नेपालीहरु विदेश गईरहेको सरकारी तथ्यांकले देखाउँछ। सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना नेपाली अस्थायी रुपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायी रुपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ। 

पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ। सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८ सय ३७ नेपाली विदेश गएका छन्। अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न मुलुक जानेहरुको संख्या पनि वृद्धि भएको देखिन्छ।

सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४ सय १५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४ सय २२ रहेको छ। 

पछिल्लो दुई वर्षको अवधिमा अध्ययानका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ। सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन्। सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरुको संख्या बढेको देखिन्छ। 

सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना पढ्नका लागि विदेश गएकोमा अर्को वर्ष २०२४ मा मात्रै १ लाख १९ हजार ५ सय ९ जना अध्ययनका लागि देशै छाडेर विद्यार्थी विभिन्न मुलुकमा गएको तथ्यांकले देखाएको छ। 

यस्तै पछिल्लो समय भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि बढेको देखिन्छ। अध्यागमन विभागले उपलव्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ लाख ७८ हजार ८४६ नेपाली विदेशमा गएका छन्।

सन् २०२३ को तुलनामा २०२४ मा घुमफिरका लागि भन्दै धेरै नेपाली विदेश गएको तथ्यांकले देखाएको छ। सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५ सय १८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिषामा गएका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad