देशभरका अदालतहरूका अधिकृतस्तरका कर्मचारीहरूको संस्था न्यायपालिका अधिकृत समाजको नेतृत्व चयन प्रक्रिया भाँडिएको छ।
शनिबार ललितपुरको एकान्तकुनाको एउटा पार्टी प्यालेसमा भव्य कार्यक्रमबीच प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गरेको समाजको पाँचौँ वार्षिक साधारण सभा शनिबारै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लबाट समापन गर्ने कार्यक्रम थियो। न्यायपालिका सुधार र योग्यता प्रणालीका सम्बन्धमा घोषणापत्र पनि जारी गर्ने तयारी थियो।
प्रमुख अतिथिका रूपमा उद्घाटन सत्रमा पुगेका प्रधानन्यायाधीश राउतले अदालतका कर्मचारीको योगदानले न्यायपालिकाको शिर ठाडो भइरहेको भन्दै गौरवगाथा नै सुनाउन भ्याएका थिए। ‘निःसन्देह तपाईंहरूको योगदान हेर्दा, हामी मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिकाको कर्मचारी बन्दा, सबैको शिर सधैं उच्च रहन्छ,’ उनले भनेका थिए।
प्रधानन्यायाधीशले यति भनेर बाहिरिएलगत्तै त्यहाँको माहोल अनौठो रमितामा परिणत भयो। किनभने, नेतृत्व चयन प्रक्रियामा भाँडभैलो हुँदा अहिले (आइतबार) साँझसम्म साधारण सकिएको छैन।
शनिबार दिउँसो सौहार्द वातावरणमा साधारण सभा सम्पन्न गर्ने भन्दै हलबाट साविककै तदर्थ समितिलाई अनुमोदन गर्ने प्रस्ताव राखिएको थियो। हलमा उपस्थित बहुमत प्रतिनिधिले ताली बजाएर समर्थन पनि गरेका थिए। तर, त्यसमा विभिन्न दलका ट्रेड युनियनहरूले आपत्ति जनाए र निर्वाचनको प्रक्रियामा लैजानुपर्ने माग राखे।
त्यसपछि निर्वाचन समितिले राति ११ बजे निर्वाचनको तयारी अघि बढायो। अध्यक्षमा साविककै तदर्थ समितिका अध्यक्ष एवं सहरजिस्ट्रार बाबुराम दाहाल, कांग्रेस–एमालेको संयुक्त प्यानलबाट सहरजिस्ट्रार अर्जुन कोइराला र ओवादीनिकट कर्मचारी संगठनका अध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिए।
उम्मेदवारी दर्तापछि एकाएक चुनाव स्थगित गरियो।
आज बिहानैदेखि सर्वोच्च अदालत प्रशासनको अगुवाइमा सहमतिको प्रयास गरियो। सहमतिका लागि प्रशासनले नै खाता अघि ल्यायो– अध्यक्ष प्रशासनले नै तोक्ने र बाँकी पदहरूमा सबै दलका संगठनहरूले भागबन्डा गर्ने।
प्रशासनको यस प्रस्तावलाई दलीय संगठनहरूले स्वीकार गरेका छैनन्। कतिपय नेताहरू सर्वोच्च अदालतबाट बाहिरिसकेका छन्।
स्रोतका अनुसार, सर्वोच्च प्रशासनले त्यहीँका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुइँकेल र पाटन उच्च अदालतका रजिस्ट्रार (सहरजिस्ट्रारसरहकै) श्रीलाल पौडेललाई अध्यक्ष तोक्न खोजेको छ। तर, उनीहरूले उम्मेदवारी दिएका छैनन्। ‘उम्मेदवारी दर्ता भइसकेको छ,’ प्रतिस्पर्धामा सामेल एक उम्मेदवारले भने, ‘अघि बढिसकेको प्रक्रिया भंग गरी प्रशासनले कसरी अध्यक्ष तोक्छ? हेरौँला।’
न्यायपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीका अलगअलग कर्मचारी संगठन छन्।
यस विषयमा जानकारी लिन खोज्दा निर्वाचन समितिका संयोजक मानबहादुर कार्कीले भने कुनै प्रतिक्रिया दिएनन्।
यस्तो थियो साविक तदर्थ समिति
न्यायपालिका अधिकृत समाजको लामो अवधिसम्म साधारण सभा हुन नसक्दा पछिल्लो समय दाहालको नेतृत्वमा तदर्थ समिति बनाएर संस्था ब्युँताइएको थियो।
अध्यक्ष बाबुराम दाहाल, उपाध्यक्ष मुना अधिकारी ढकाल, महासचिव अशोककुमार क्षत्री, सचिव विष्णुप्रसाद पाण्डेय र कोषाध्यक्ष श्रीदीप वाग्ले थिए। यस्तै सदस्यमा तारादत्त बडु, भेषराज कोइराला, कालीबहादुर साम्यु लिम्बु, सञ्जीव ढकाल, रेवतीप्रसाद पराजुली, पुष्पराज तिमल्सिना, दुर्गादत्त लम्साल र कुसुम थापा सदस्य थिए।
२०६५ भदौ २७ गते यो संस्था काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो।
संस्थामा हालसम्म ९६ जना आजीवन सदस्य र ५८५ साधारण सदस्य गरी जम्मा ६८१ जना अधिकृतहरू आबद्ध छन्।
Shares

प्रतिक्रिया