समाज


इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका बद्नाम हुँदैनः प्रधानन्यायाधीश राउत

इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका बद्नाम हुँदैनः प्रधानन्यायाधीश राउत

नेपालखबर
जेठ १७, २०८२ शनिबार २०:४२, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताएका छन्।

शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन्।

उनले न्यायपालिकाप्रति सोझिएका प्रश्नको समाधानका लागि आफूले सधैँ प्रयास गरिरहेको दाबी पनि गरे। मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो।

कर्मचारीहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आफू रहेको र कर्मचारीमा उत्साह जगाउनेतर्फ पनि सजग रहेको उनले स्पष्ट पारे।

प्रधानन्यायाधीश राउतले भने, ‘तपाईंहरू सबै न्याय सेवामा आबद्ध हनुहुन्छ। गौरवपूर्ण न्यायसेवा हामीले बनाउन सकेका छौं। यदि त्यस्तो पहिचान बन्न सकेको छैन भने त्यसको कारण के हो? यसको कारण खोज्ने समय भयो कि भएन? यसको समीक्षा गर्ने बेला भएन? यदि समीक्षाले समाधान आएन भने निर्मम समीक्षा गर्नुपर्छ। तपाईँहरूको अद्भूत क्षमता, तपाईंहरूको योग्यता, विलक्षणता आज त्यसका लागि पनि एक्सप्लोर गर्न तपाईँहरू प्रयत्नरत हुनुपर्छ।’

उनले कर्मचारीहरूलाई आफ्नो सेवा प्रवाहप्रति सन्तुष्टिको मात्रा पनि विचार गर्न पनि भनेका छन्।  

‘तपाईंहरूसँग जोडिने अर्को कुरा सेवा प्रवाह छ,’ उनले भने, ‘त्यो सेवा प्रवाहमा तपाईँहरू कति सन्तुष्ट हुनुहुन्छ? मलाई भन्नुहुन्छ र यही प्रश्न तेर्स्याउनुहुन्छ भने मलाई सर्वोच्च अदालतले जुन जिम्मेवारी दियो, कर्मचारीदेखि न्यायाधीशसम्मको क्षमता जाँच्ने इच्छा जाग्यो तर तपाईँहरू सबै प्रतिभावान् हुनुहुन्छ। तर संस्था र नेतृत्वले परिचालन गर्न नसकेका कारण हामीले लक्ष्य प्राप्त हुन सकेको रहेनछ।’

उनले आफू कर्मचारीमा उत्साह जगाउनेतर्फ सजग रहेको पनि उनले बताए।

‘हामी अहिले न्याय सेवामा छौं। न्याय सेवामा भएका कारण हाम्रो स्थिति कस्तो छ भने दुनियाँले हामीलाई कसरी हेरेको छ,’ उनले भने, ‘किनभने यो संस्था जनआस्थामा टिक्ने हो। कुनै कालखण्डमा सर्वोच्च अदालतमा निर्वाचनको मुद्दा पाँच वर्ष कटेपछि मात्रै फैसला भएको थियो। तपाईंहरू न्यायपालिकाको आधारस्तम्भ हो। तपाईंहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्छु भनेर हिँडेको छु। त्यसबाट पनि भएन भने अन्तिम अवस्था भनेको नैतिकता मात्रै हो। न्यायपालिकामा सधैं मेरो भूमिका हुँदैन तर भूमिकामा भएको समयमा मैले केही गर्न सकिनँ भने त्यसको कुनै अर्थ हुँदैन। त्यसकारण हामीप्रति सोझिएको प्रश्नको समाधान गर्ने प्रयासमा छु। त्यसैले निःसन्देह तपाईंहरूको योगदान हेर्दा हामी मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिकाको कर्मचारी बन्दा सबैको शिर सधैं उच्च रहन्छ। एक पटक हामीले इमान र निष्ठासँगै क्षमतालाई फ्युजन गराएर कार्यसम्पादन गर्‍यौँ भने न्यायपालिका कहिलै बद्नाम हुँदैन।’

उनले न्यायपालिकाका अधिकृतहरूको हितमा मात्र केन्द्रित नभई विधिको शासनको रक्षा र न्यायिक अक्षुण्णता कायम राख्नेतर्फ ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad