समाज


बालाजु पौडी पोखरी सञ्चालन, पहिलो दिनमै २ सयले लिए सेवा

बालाजु पौडी पोखरी सञ्चालन, पहिलो दिनमै २ सयले लिए सेवा

नेपालखबर
जेठ १८, २०८२ आइतबार १९:५, काठमाडौँ

बालाजु पौडी पोखरी सञ्चालन भएको छ। आइतबार बिहान काठमाडौँ-१६ का अध्यक्ष रोजिना श्रेष्ठले शुभारम्भ गरिन्। पोखरी सञ्चालन भएको पहिलो दिनमै २ सय ५ जनाले सेवा लिँदा ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको काठमाडौँ महानगरले जनाएको छ। 

‘पोखरीमा स्थानीयहरुले सहुलियत पाउनु पर्नेसहित माग राख्नुभएको छ,’ वडाध्यक्ष श्रेष्ठले भनिन्, ‘अहिले, आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरपालिकाले जारी गरेको आर्थिक ऐन अनुसारको शुल्क लिइएको हो। पौडी पोखरी सञ्चालनका लागि मस्यौदा कार्यविधि तयार भइसकेको छ। यो कार्यविधि र आर्थिक वर्ष २०८२/०८३ को लागि जारी गरिने आर्थिक ऐनबाट स्थानीयका माग सम्बोधन गर्नेछौँ।’

वडा सचिव प्रकाश खड्का भन्छन्, ‘खुला र सार्वजनिक स्थानको व्यवस्थापन गरेर स्थानीय पहुँचलाई बढाउँदै लगिएको छ।’

१८ लाख लिटर पानी भएको पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ। गहिराइ ३ फिटदेखि १० फिटसम्म छ। पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ। पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली छ। स्नान घर, शौचालय र लकर सुविधा उपलब्ध गराइएको छ। पोखरीको छेउमा १५० जना दर्शक बस्ने क्षमताको ठाउँ छ।  

पोखरीमा जीवन रक्षाका लागि नेपाल पौडी संघसँगको सहकार्यमा १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति परिचालन गरिएको छ।

बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन राजा जयप्रकाश मल्लको पालामा एक्काइसवटा धारा निर्माण भएका थिए। पछि रणबहादुर शाहले बिचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो। वि.सं. २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो। सर्वसाधारणका लागि २०२१ सालदेखि खुला भएको हो। 

२०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो। त्यसपछि पोखरी पुनर्निर्माण थालिएको थियो। ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनर्निर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो।

निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो। कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो। २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad