राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिनासर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन्।
शनिबार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन्। उनले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताए। उनीहरू आस्थाको बन्दी भएको उनको भनाइ छ।
नेता थापाले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेका आरोप लगाए। उनले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाए।
थापाले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको बताए।
उनले भने, ‘उनीहरु कुनै अपराधी होइनन्। उनीहरुले संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्र र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन्। तर वर्तमान निरंकुश र भ्रष्ट सरकारले उनीहरुमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुस्प्रयास गरिराखेका छ। उहाँहरुलाई ४३ दिनदेखि थुनामा राखेको छ। उहाँहरु सबैको बयान सकिएको अवस्थामा पनि नयाँ नयाँ मुद्दा सिर्जना गर्दै फसाउने ढंगबाट प्रतिशोधको हिसाबले सरकार प्रश्तुत भइरहेका छ।’
अध्यक्ष थापाले सरकारले अन्यायपूर्वक पक्राउ गरी हिरासतमा राखेका नेता तथा कार्यकर्ताहरु हिन्दु राष्ट्र र राजसंस्था विचारका संवाहक र राष्ट्रवादी योद्दा भएको जिकिर गरे।
Shares

प्रतिक्रिया