पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई आफूहरुको आलोचनात्मक समर्थन रहेको उल्लेख गरे। ‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायौँ, त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छौँ,’ खनालले भने, ‘यो संविधान पुँजीवादी संविधान हो। यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ। यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं।’
त्यस्तै उनले निर्वाचन आउने कुराहरु कार्यनीति लक्ष्यहरु मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गरे। यद्यपि, निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरुलाई जिताउनसके संसद्मा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने खनालको भनाइ छ।
‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरु हुन्,’ उनले भने, ‘चुनाव नै हाम्रो लक्ष्य हुँदैन। तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरुलाई जिताउन सक्यौँ भने त्यो संसद्मा गएर पनि हामी यो नौटंकी सरकारको भण्डाफोर गर्नसक्छौँ। र जनताका आवाजहरु त्यहाँ बुलन्द गर्नसक्छौँ।’
खनालले थपे, ‘बहुमत ल्यायौँ भने हामी जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्नसक्छौँ। जस्तो हिजो नीति र कार्यक्रम आयो, नौटंकी मात्रै छ। खालि बोलिने कुरा मात्रै छन् त्यहाँ। तर गरिने कुराहरु बहुतै कम छन्। त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ।’
Shares

प्रतिक्रिया