संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन गरिरेको राष्ट्रिय जनमोर्चाले प्रदूषणका कारण आन्दोलनका कार्यक्रम छोट्याएको छ।
अब कार्यक्रमको समापन चैत २८ गते हुनेछ।
जनमोर्चाले चैत २४ देखि संघीयताविरुद्ध आन्दोलन गरिरहेको छ। काठमाडौँमा बढ्दै गएको प्रदूषणको अवस्थालाई मध्येनजर गर्दै चैत ३० गते समापन गर्ने भनिएको कार्यक्रम दुई दिनअघि समापन गरिने सोमबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा राजमोले शिक्षकको आन्दोलनप्रति गम्भीर नभएको भन्दै सरकारको आलोचना पनि गरेको छ।
यस्तो छ, प्रेस वक्तव्य
कतिपय जरुरी महत्त्वका विषयमा जानकारी गराउन र पार्टीको धारणा स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ।
१) हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि यही चैत २४ देखि ३० गतेसम्म सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेको थियो। राजधानीकेन्द्रित आन्दोलन सफल पार्न ठुलो उत्साहका साथ विभिन्न बाधाअवरोधका बाबजुद पनि देश तथा प्रवासबाट पार्टीका समर्थक, शुभचिन्तक, नेता, कार्यकर्ताहरू ठुलो सङ्ख्यामा काठमाडौँ आइसक्नुभएको छ। चैत २४ गते आन्दोलनको उद्घाटन सम्पन्न भई आज दोस्रो दिनको कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भइसकेको छ। सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न भौतिक, नैतिक तथा आर्थिक रूपले सहयोग गर्नुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हामीले धन्यवाद ज्ञापन गर्दछौँ।
२) अहिले काठमाडौँ विश्वकै प्रदूषित सहरमध्ये पहिलो स्थानमा पुगेको तथ्याङ्क सार्वजनिक भइरहेका छन्। दिनप्रतिदिन थप प्रदूषण बढिरहेको छ। यो अवस्था रहिरहेमा प्रदूषणका कारण जनताको स्वास्थ्यमा कैयौँ गम्भीर र दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने सम्भावनातर्फ कैयौँ विज्ञले सचेत गराइरहेका छन्। स्वयम् सरकारले विद्यमान प्रदूषित अवस्थामा जनताको स्वास्थ्य, सुरक्षाका लागि कैयौँ सतर्कता अपनाउनेबारे छलफल अगाडि बढाएको छ। बढ्दो प्रदूषणका बिच सप्ताहव्यापी आन्दोलनलाई सञ्चालन गर्दा कैयौँ स्वास्थ्यसँग सम्बन्धित जटिलता उत्पन्न हुने खतरा देखिएको कुरा मध्येनजर गर्दै आजै बसेको बैठकले आन्दोलनको अवधि २ दिन घटाई ५ दिन मात्र कायम राख्ने निर्णय गरेका छौँ। जसअनुसार राजधानीकेन्द्रित आन्दोलनको समापन चैत ३० गते नभएर चैत्र २८ गते नै हुनेछ। कार्यक्रमको स्वरूपमा आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ। कार्यक्रमको स्वरूप परिवर्तन भए पनि सङ्घीयता विरुद्धको सङ्घर्ष प्रादेशिक संरचना खारेज नभएसम्म जारी रहने प्रतिबद्धता पनि यही वक्तव्यमार्फत् दोहोर्याउन चाहन्छौँ।
३) बदलिएको राजनीतिक व्यवस्थाअनुरूपको शिक्षा ऐन ल्याउन सरकारले गरेको विलम्बका विरुद्ध गत सालदेखि नै शिक्षकले आफ्नो पेसागत हकहितसहित आन्दोलन गरिरहेका छन्। उक्त आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गर्दछ। शिक्षकका पेसागत मागलाई सम्बोधन गर्नुका साथै बदलिएको राजनीतिक व्यवस्थाअनुरूपको शिक्षा ऐन ल्याउन सरकारलाई जोड दिन्छौँ। शिक्षा ऐन ल्याउँदा निजी शिक्षा क्षेत्रलाई कानुनको दायराभन्दा बाहिर राख्ने कुनै पनि प्रकारको जालझेल वा आलटालले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनमा समेत बाधा पुग्नेछ। शिक्षकको सरुवाबढुवा वा विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई हुनुहुँदैन। यसको अर्थ शिक्षा क्षेत्रको सञ्चालन स्थानीय तहको क्षेत्राधिकारबाट खोसिनुपर्छ भन्ने होइन।
४) पत्रकार भैरव रिसालको २०८१ चैत २४ गते भएको मृत्युको समाचारले हामीलाई निकै दुःख लागेको छ। दिवङ्गत भैरव रिसालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दैै सोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। उहाँको मृत्युले पत्रकारिता तथा बाम आन्दोलनलाई क्षति पुगेको छ।
Shares

प्रतिक्रिया