समाज


भोलिबाट काठमाडौँसहित देशका धेरै ठाउँमा वर्षा हुने अनुमान

नेपालमा धेरैवटा प्रणालीको प्रभाव पर्दैछ, काठमाडौँको प्रदूषण हट्छ: मौसमविद् शान्ति कँडेल
भोलिबाट काठमाडौँसहित देशका धेरै ठाउँमा वर्षा हुने अनुमान

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८१ सोमबार २०:५३, काठमाडौँ

मौसमविद्ले भोलि (मंगलबार) देखि आगामी शुक्रबारसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा छिटपुट वर्षा हुने अनुमान गरेका छन्। 

बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण आगामी तीन-चारदिनसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागकी मौसमविद् शान्ति कँडेलले भोलिबाट काठमाडौँको वायु प्रदूषण पनि कम हुने सम्भावना रहेको बताइन्। 

‘अहिले जुन स्तरको प्रदूषण काठमाडौँमा छ, भोलिबाट त्यो हट्ने सम्भावना छ, ’ कँडेलले नेपालखबसँग भनिन्,  ‘अहिले नै काठमाडौँ उपत्यकामा ठूलो पानी पर्ने त देखिँदैन। तर, छिटपुट वर्षा र हावा चल्ने सम्भावना छ, त्यसले पनि काठमाडौँको प्रदूषण कम गर्न मद्दत गर्छ।’ 

उनले मंगलबारदेखि आगामी शुक्रबारसम्म नै कोसी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुने बताइन्।

‘काठमाडौँ उपत्यकासहित केही ठाउँमा छोटो सयमको लागि मेघगर्जन र चट्यासहित छिटपुट वर्षा र हावाहुरीको सम्भावना पनि छ। त्यसले पनि प्रदूषण केही कम हुने अनुमान हामीले गरेका छौँ,’ उनले भनिन्। 

मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ८ बजे जारी गरेको बुलेटिनमा पनि आगामी २४ घण्टासम्म देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। 

‘कोसी प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ,  ‘कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना छ।’ 

महाशाखाले वायु प्रदुषणसँगै आकाशमा बाक्लो बादल लागेको कारण सोमबार दिनभरि नै उपत्यकाको आकाश धुम्म देखिएको जनाएको छ। 

आजदेखि भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभावसमेत नेपालमा पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad