राजनीति


ओली–मोदी भेटका लागि ऊर्जामन्त्री खड्काले परराष्ट्रमन्त्री राणालाई दिए ‘विशेष धन्यवाद’

ओली–मोदी भेटका लागि ऊर्जामन्त्री खड्काले परराष्ट्रमन्त्री राणालाई दिए ‘विशेष धन्यवाद’

ऊर्जामन्त्री खड्का (बायाँ) र परराष्ट्रमन्त्री आरजु राणा (दायाँ) बीचमा ओली–मोदी भेटको तस्बिर


नेपालखबर
चैत २३, २०८१ शनिबार २१:४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सकेर शनिबार (चैत २३) स्वदेश फर्किएका छन्।

थाइल्यान्डको राजधानी बै‌ंककमा आयोजित शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता पनि भयो। ओली-मोदी भेटवार्तालाई नेपाल-भारतका संस्थापनबीचको सम्बन्ध सुध्रिएको संकेतसमेत मानिएको छ।

भेटवार्तामा नेपाल-भारत मित्रताका विभिन्न पक्ष- विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रबारे छलफल गरिएको मोदीले बताएका छन्।

मोदीले भनेका छन्, 'हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट विशेष गरी विपद् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रबारे पनि केही कुरा गरेका छौँ।'

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भने सो भेटवार्ताका निम्ति परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई विशेष धन्यवाद दिएका छन्। 

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूबीच थाइल्यान्डको बैंककमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएकोमा अत्यन्तै खुसी महसुस गरेको छु’, मन्त्रीले खड्काले प्रधानमन्त्री स्वदेश फर्केको दिन शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस समन्वयको लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय डा. आरजु राणा देउवाज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो भेटवार्ता दुवै देशका बीचको सम्बन्धलाई अझ मजबुत र सशक्त बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। यस छलफलले दुवै देशको साझा विकास र ऊर्जा समृद्धिको मार्गमा थप प्रभावकारी कदम चाल्न मद्दत गर्ने छ भन्नेमा म विश्वस्त छु।’

स्मरण रहोस्, ऊर्जामन्त्री खड्का र परराष्ट्रमन्त्री राणा एकै पार्टी नेपाली कांग्रेसका हुन् भने प्रधानमन्त्री ओली एमाले अध्यक्ष।

प्रधानमन्त्री ओली थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ थान शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत १९ गते बैंकक प्रस्थान गरेका थिए। 

भ्रमण टोलीमा प्रधानमन्त्रीका साथ उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृत राईलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad