राजनीति


प्रतिनिधिमण्डल छाडेर बैंककमा एक्लाएक्लै भेट: मोदीसँग ओलीको सम्बन्ध सुध्रिएको संकेत

प्रतिनिधिमण्डल छाडेर बैंककमा एक्लाएक्लै भेट: मोदीसँग ओलीको सम्बन्ध सुध्रिएको संकेत

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १८:४७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय संस्थापनसँग केही वर्षदेखि त्यति सौहार्द्र हुन नसकेको सम्बन्धमा सुधार भएको संकेत देखिएको छ। 

छैटौँ बिम्स्टेक शिखर सम्मेलनका क्रममा बैंकक पुगेका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तासँगै दुई मुलुकका संस्थापनबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो। 

हुन त सम्बन्ध त्यति सौहार्द्र नरहेका बेला पनि दुई प्रधानमन्त्रीबीच यसअघि न्युयोर्क (अमेरिका) मा भेटवार्ता भएको थियो। 

तर, त्यो बेला दुई प्रधानमन्त्रीबीचको त्यो भेटवार्ता एक्लाएक्लै भएको थिएन। दुई प्रधानमन्त्री आ–आफ्ना प्रतिनिधिमण्डलका साथ वार्तामा बसेका थिए।

खासमा त्यो भेटवार्ता औपचारिकताका लागि मात्र थियो। 

यसपटक पनि दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताकै योजना थियो। सोही बमोजिम प्रधानमन्त्री ओलीका साथ अन्य पाँच उच्च अधिकारीहरू भेटवार्तामा सरिक हुने तयारी थियो। 

मोदीसँगको भेटमा प्रधानमन्त्री ओलीका साथ रहने नेपाली अधिकारीहरूमा– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विकास तथा आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई थिए। 

तर, भारतीय प्रतिनिधिमण्डल रहेको ब्यांककस्थित मन्दारिन ओरिएन्टल होटलमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा भारतीय समकक्षीका साथ प्रधानमन्त्री ओली मात्र सरिक भए। 

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दुई प्रधानमन्त्रीबीचको भेटवार्ता वान–अन–वान (एक्लाएक्लै) भएको पुष्टि गरेका छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बिहीबार साँझ दुई प्रधानमन्त्रीबीचको भेटवार्ता समूहमा हुने र २०–३० मिनेटसम्म लम्बिन सक्ने उल्लेख गरेका थिए। यद्यपि, यसबीचमा दुई प्रधानमन्त्रीबीच विश्वासको वातावरण निर्माण भएमा भेटवार्ताको अवधि लम्बिन पनि सक्ने उनीहरूको अनुमान थियो। 

तर, दुई प्रधानमन्त्रीबीचको भेटवार्ता ४० मिनेट लम्बियो। दुई प्रधानमन्त्रीबीचको सम्बन्ध अझै हार्दिक नरहेको अनुमान गरिएका बेला यति लामो एक्लाएक्लै भेटवार्ता हुनु आफैमा अनौठो घटना हो। 

यो भन्दा अझ अनौठो प्रतिनिधिमण्डलस्तरीय हुने भनिएको भेटवार्ताको साटो दुई प्रधानमन्त्रीबीचको भेटवार्ता एक्लाएक्लै हुनु रह्यो। जबकि काठमाडौँबाट ब्याङ्कक प्रस्थान गर्ने बेलासम्म मोदीसँग भेटवार्ता नै अनिश्चित थियो। 

तर, मोदीसँग झण्डै पौने घण्टा एक्लाएक्लै भेटवार्ताको अवसर जुरेपछि मोदीसँगको भेटमा प्रधानमन्त्री ओली प्रसन्न मुद्रामा देखिएका छन्। 

भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीसँगको भेटवार्ता आत्मीय रहेको र मोदी आफ्नो ‘प्रिय मित्र’ रहेको उल्लेख गरेका छन्। 

‘मेरा प्रिय मित्र नरेन्द्र मोदीसँग मेरो भेट आत्मीय रह्यो, हाम्रो कुराकानी निकै सार्थक र सकारात्मक रह्यो,’ भेटवार्ता लगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मा ओलीले लेखेका छन्, ‘यो सार्थक भेटघाटप्रति म खुसी व्यक्त गर्दछु।’ 

प्रधानमन्त्री मोदीले पनि यस्तै सकारात्मक भाव व्यक्त गरेका छन्। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री ओलीसँगको भेटघाट फलदायी रहेको मोदीले उल्लेख गरेका छन्। 

‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी उर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ,’ ‘एक्स’ मा मोदीले भनेका छन्, ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू– विशेषगरी विपद व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौँ।’  

प्रधानमन्त्री चयन भएको ९ महिना बित्न लागे पनि प्रधानमन्त्री ओलीले बैंकक भेटवार्ता अघिसम्म नयाँदिल्ली भ्रमणको औपचारिक निम्तो प्राप्त गरेका थिएनन्। 

दुई मुलुकका संस्थापनबीचको सम्बन्ध सौहार्द्र नरहेको विश्लेषणको एक आधार ओलीले प्राप्त गर्न नसकेको नयाँदिल्ली भ्रमणको निम्तो पनि बन्ने गरेको छ। 

भेटवार्ताका क्रममा नयाँदिल्ली भ्रमणको औपचारिक निम्तो ओलीले प्राप्त गरे–गरेनन्, त्यो प्रष्ट छैन। तर, यो भेटवार्ता ओली–मोदीबीच सम्बन्ध सुधारको प्रस्थानविन्दू भने अवश्य बनेको छ– ‘आइसब्रेक’ भन्न सकिने खालको! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad