राजनीति


रवि पक्राउपछि मध्यराति रास्वपाका निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने

रवि पक्राउपछि मध्यराति रास्वपाका निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने

फाइल तस्बिर


नेपालखबर
चैत २३, २०८१ शनिबार १:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको शुक्रबार राति बसेको भर्चुअल बैठकले शनिबार हुन लागेको चितवनको सभा नरोक्ने निर्णय गरेको छ।

सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएपछि चितवनको सभाबारे अन्योल बढेको थियो। पक्राउ गर्न प्रहरी घरमै आइसकेपछि रविले सामाजिक सञ्जालमार्फत सभा नरोक्न भनेका थिए।

रवि पक्राउ परेपछि राति ११ बजे आकस्मिकरुपमा बसेको बैठक साढे १ बजेपछि सकिएको थियो। बैठकले सभा नरोक्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

यस्तै लामिछानेले कार्यवाहक सभापति डीपी अर्याललाई तोकेकामा बैठक अनुमोदन गरेको छ। अर्याल उपसभापति हुन्।

यसअघि पनि रविले आफ्नाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर हुनासाथ अर्याललाई कार्यवाहक सभापति तोकेका थिए।

कास्कीमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएका कारण रवि सांसद पदबाट निलम्बित छन्। सभापतिका रुपमा भने ५ दिनअघि मात्र पार्टीमा पुनः सक्रिय हुन थालेका थिए।

पुनः सक्रिय हुन थालेसँगै उनले आफूअनुकूल टिम बनाउन पार्टीमा व्यापक पुनःसंरचना गर्ने भनेका थिए।

शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले रविलाई सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै बूढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने यसअघि जिल्ला अदालत रुपन्देहीको आदेशले १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए। 

उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। 

हजारौँ सहकारी पीडितको न्यायको विषय जोडिएकाले उनी मुछिएको अपराध धरौट वा जमानतमा छाड्न नमिल्ने प्रकृतिको रहेको उच्च अदालतको आदेशमा भनिएको छ।

'सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम आएको घटनाको प्रकृति जति संवदेनशील छ, जिम्मेवार सञ्चालकको हैसियतमा रहेका प्रतिवादी (रवि) को भूमिका र बयान उति नै शंकास्पद र अनुचितसमेत छ,' शुक्रबार जारी आदेशमा भनिएको छ, 'थुना वा धरौटमध्ये कुनै एक विकल्पलाई अदालतले आफ्नो रोजाइमा प्रयोग गर्न सक्दैन। वास्तवमा थुना र धरौट निरपेक्ष रूपमा एकअर्काका विकल्प पनि होइनन्। थुनामा राख्नुपर्ने अवस्थाको अभियुक्त वा प्रतिवादीलाई अदालतले धरौट माग गर्न मिल्दैन र हुँदैन पनि।'

कार्यवाहक प्रवक्ता झाले दिएको जानकारी अनुसार रास्वपाको बैठकले गरेका निर्णय यस प्रकार छन्-
१. उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।

२. पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।

३. आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।

४. पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad