राजनीति


हिरासतमा हुँदा आन्दोलन नचर्केकाले दुख्यो रविको चित्त, अब आफू अनुकूल टिम बनाउने

हिरासतमा हुँदा आन्दोलन नचर्केकाले दुख्यो रविको चित्त, अब आफू अनुकूल टिम बनाउने

सागर न्यौपाने
चैत २१, २०८१ बिहिबार २१:१२, काठमाडौँ

पाँच महिनापछि घण्टीघर प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकाएक पार्टी संरचनामा व्यापक हेरफेर गर्ने घोषणा गरे। 

चैत १८ गतेदेखि सभापतिमा फर्किएकै दिन उनले अघि सारेको नयाँ प्रस्ताव अनौठो मात्र थिएन, नेताहरूका लागि रहस्यपूर्ण पनि थियो। किनभने रास्वपाको पार्टी संरचना भद्दा छैन। 

विधान अनुसार केन्द्रीय समिति १२१ सदस्यीय हुनुपर्ने भए पनि अहिले जम्मा ६५ जना मात्रै छन्। यो केन्द्रीय समिति अन्य दलहरूको तुलनामा सानो हो।

रास्वपा गठन भएको तीन वर्षपनि पुगेको छैन। राजनीतिक दलका रूपमा ज्यादा आरोहअवरोह भोग्नुपरेको छैन।  नेताहरूबीच चर्को विवाद देखिएको छैन। नेतृत्वले गुट–उपगुटको सामना पनि गर्नुपरेको छैन। 

तर, कात्तिक २ गतेपछि पहिलोपटक पार्टी बैठकमा सहभागी भएका सभापति लामिछानेले केन्द्रीय बैठकमा बोल्ने क्रममा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताए। ‘अब पार्टीको संरचनामा काम गर्न आवश्यक छ,’ उनले बैठकमा भने।

राजावादी प्रदर्शनकारीले चैत १५ गते तीनकुनेमा उत्पात मच्चाएर जनधनको क्षति पुर्‍याएपछि दलहरू गणतन्त्रको रक्षार्थ उभिइरहेका बेला बसेको रास्वपाको बैठकले यसबारे निर्णय गर्छ भन्ने विश्वासमा नेताहरू थिए। तर, रविको ध्यान राजावादी र गणतन्त्रवादी बनेर कित्ताकाट गर्नेमा थिएन।

उनले पार्टीमा व्यापक हेरफेर गर्ने भनेपछि यसले तरङ्ग ल्याएको छ।

त्यसो त, रवि लामिछानेले के गर्दैछन् भन्ने उनीबाहेक अरुले भेउ पनि नपाउने सो पार्टीका नेताहरूको भनाइ छ।

केहीदिन अघि मात्र उनले अदालतमा पुग्दा क्रान्तिका लागि तयार रहनू भन्दै सनसनीपूर्ण भनाई राखेका थिए। रविले यो किन बोले भन्ने बारे कुनै नेताले जवाफ दिनै सकेनन्। 

रविको क्रान्ति के हो भन्ने पनि अहिलेसम्म प्रस्ट छैन। उनी अदालतमा मुद्दाको किनारा नलाग्दै पार्टीभित्र सक्रिय बनिसके। सभापतिमा काम थालिसके। 

रविले रास्वपामा गर्न खोजेको पुनर्संरचना के हो त?

रविनिकट मानिने एक नेताले नेपालखबरलाई बताएअनुसार सभापतिले रास्वपामा राजनीतिक चेत भएको नेताको अभाव महसुस गरेका छन्। त्यसैले उनले केन्द्रीय सदस्य छाँट्न खोजेको उनको भनाइ छ।

‘जहाँ पनि मै चाहिन्छ भनेपछि त म अनुकूलको टिम बनाउनुपर्‍यो भन्ने उहाँलाई परेको छ,’ उनले भने, ‘अहिले उहाँले भनेअनुसारको टिम छैन। रास्वपामा नेता छन् तर, ती राजनीतिक चरित्रका देखिएनन्। अब अभियान र अभियन्ता जसरी हुँदैन। राजनीतिक मान्छे चाहिने रहेछ भन्ने परेको छ। यसो गर्दा अहिले भएको टिममा उत्पात परिवर्तन नभए पनि अहिले भएका केन्द्रीय सदस्यहरू छाँटिन्छन्।’ 

रवि किन यो निष्कर्षमा पुगे त? यसका लागि ५ महिना अघि फर्कनुपर्ने हुन्छ।

सहकारीमा सर्वसाधारणको बचत रकम ठगी गरेको आरोपमा उनीविरुद्ध कास्की, बुटवल, काठमाडौँ, चितवन र पर्सामा मुद्दा दायर भएका थिए।

कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेपछि लामिछाने नेताहरूले आन्दोलन गरेर आफ्नो पक्षमा माहोल बनाउलान भन्ने विश्वासमा थिए। कात्तिक ३ गते रास्वपाका सांसद पोखरा पुगेर आन्दोलन पनि थाले।

तर, पोखराकेन्द्रित आन्दोलन एक हप्तामै रोकेर नेताहरू काठमाडौँ फर्किए। कात्तिक ९ गते केही दिन माइतीघर मण्डला र बालुवाटार क्षेत्रमा नारा जुलुस गरे पनि त्यो प्रभावकारी हुन सकेन।

कात्तिक १३ गते बालुवाटार घेर्ने प्रयास समेत प्रहरीले निस्तेज पारिदियो। निषेधित क्षेत्र तोडेको भन्दै सांसदसहित १७ जना पक्राउ परे। यसले रास्वपाका नेतालाई झन् कमजोर बनायो।

देशभर आन्दोलन चर्काउने दाबी गरेका नेताहरू नै रक्षात्मक बन्न पुगे। यो विषयले सभापति रवि लामिछानेलाई निकै गम्भीर बनाएको उनी निकटहरू बताउँछन्। 

‘उहाँलाई हिरासत बसेदेखि आफूलाई परेको बेला साथीहरूबाट पर्याप्त सहयोग नपाएको फिल भएको रहेछ,’ अर्का केन्द्रीय सदस्यले भने, ‘सभापति त म हो, तर मलाई नै सद्भाव राख्ने टिम छैन। यहीँ केन्द्रीय कमिटीमै मेरो यत्रो दुःखमा सद्भाव राख्ने साथीहरू रहेनछन् भन्ने उहाँलाई परेको छ।’

रविलाई कास्की प्रहरीको हिरासतमा राखेका समयमा रास्वपाका सबै नेता पोखरा पुगेका हुन्। तर, उनको चाहना आन्दोलन चर्काइदिएर आफ्नो पक्षमा माहोल बनाइदिए हुन्थ्यो भन्ने थियो।

आफूलाई हिरासतमा राखेको बेलामा अनुसन्धान चलुञ्जेल पार्टीले संस्थागत रूपमै अपनत्व लिएर आन्दोलन गरिदेओस् भन्ने रविको चाहना थियो। हिरासतमा भेट्न पुगेका नेतालाई यसबारे संकेत गरेका पनि हुन्। 

तर, उपसभापति लगायत नेताहरू लामो समय आन्दोलन गर्दा झन् परिस्थिति बिग्रन्छ भन्नेमा पुगे। यसले रविलाई चोट पुर्‍यायो। अदालतले धरौटीमा छाडे पनि कास्कीमा उनी ६१ दिन हिरासतमा बस्नुपरेको थियो। 

‘राज्यबाट अनुसन्धानमा गडबडी नहोस्, खराब नियत नराखोस् र मविरुद्ध राज्यले प्रतिशोध साँधेको स्थापित होस् भन्ने उहाँको चाहना थियो, तर नेताहरूले आन्दोलन अगाडि बढाउनु भएन, फलो गर्नुभएन, उल्टै बीचमा लगेर तुहाइदिनुभयो, यो कुराले उहाँलाई निकै पिन्च परेको छ,’ ती नेता थप्छन्, ‘मैले बनाएको पार्टी, म यत्रो समस्यामा पर्दा समेत पार्टीले स्वामित्व नलिई व्यक्ति परेको जस्तो व्यवहार गर्‍यो। त्यही भएर पनि पार्टीमा आफू अनुकूलकै नेता चाहिने रहेछ भन्ने परेको हो।’

रविका लागि पुनर्संरचनाको समय पनि अहिले उपयुक्त छ। किनकि, रास्वपाको महाधिवेशन वैशाख अन्तिम साता गर्ने मिति तोकिएको छ। यही मौकामा रवि पार्टीमा आफूलाई सहज हुनेगरी संगठन बनाउने प्रयत्न गर्दैछन्।

वडादेखि केन्द्रीय समितिको कार्यकाल पाँच वर्ष राखिएकोले संगठन चलायमान नहुने निष्कर्षमा उनी पुगेका छन्।

‘फरक–फरक कार्यकाल तोकिँदा पार्टी जहिल्यै चलायमान हुन्छ, नयाँनयाँ नेता वडाबाटै आउँछन्,’ ती केन्द्रीय सदस्यले भने, ‘तल्लो तहमा जहाँ पार्टी स्ट्रङ हुनुपर्ने हो, त्यहाँ नेतृत्व विकास गर्नुपर्छ। अहिलेको विधानले नेतृत्व विकास नहुने भयो, त्यसमा पनि पुनर्संरचना गर्नुपर्छ।’

रास्वपाका संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठ पुनर्संरचनाको ठोस योजना पेस नभएको बताउँछन्। 

‘महाधिवेशनतिर पनि गइरहेको बेला पुनर्संरचना गरेर बलियो बनाउने भन्ने योजना उहाँको हुनसक्छ,’ श्रेष्ठले भने।

प्रमुख सचेतक सन्तोष परियार त केही मानिस थपघटबाहेक अरु केही नहुने बताउँछन्।

‘एकजना थपिने, कोही घट्ने होला, अरु के हुन्छ र? हामी टिम बनाएर जानुपर्छ भन्ने उहाँको कुरा छ,’ परियारले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad