बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, हेपाली हाइटबाटस्थित निवासबाट पक्राउ परेका हुन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो।
आदेश प्राप्त भएलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अब उनलाई रुपन्देही लगिनेछ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्लाका आदेशविरुद्ध रवि, छवि र सरकारी वकिलले छुट्टाछुट्टै उच्च अदालतमा निवेदन दिएका थिए। ती निवेदन एकसाथ राखी बिहीबारदेखि सुनुवाइ गरिएको थियो। बिहीबार बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो।
शुक्रबार साँझ अदालतले रवि र छवि दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो।
सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।
Shares

प्रतिक्रिया