राजनीति


दरबार हत्याकाण्डलगत्तैको लेख सेयर गर्दै बाबुरामले भने: चैत १५ को प्रदर्शन त्यसैको एउटा कडी

दरबार हत्याकाण्डलगत्तैको लेख सेयर गर्दै बाबुरामले भने: चैत १५ को प्रदर्शन त्यसैको एउटा कडी

नेपालखबर
चैत २१, २०८१ बिहिबार १३:८, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘मरिसकेको राजतन्त्रको भूत जगाउन’ देशका प्रतिगामी शक्तिका साथै बाह्य शक्तिसमेत लागिपरेको दाबी गरेका छन्। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शन त्यसैको एउटा कडी भएको उनले उल्लेख गरेका छन्।  

‘अहिले देशमा पुनः एकपटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्य शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लुटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्’ , डा. भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चैत १५ गते काठमाडौँमा प्रदर्शन गरिएको आपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी हो।’

यस क्रममा उनले दरबार हत्याकाण्डलगत्तै लेखेको ‘राजतन्त्रलाई हेर्ने दृष्टिकोणबारे’ लेख पनि सेयर गरेका छन्।

डा. भट्टराईका अनुसार २०५८ असार १९ गते ‘जनादेश साप्ताहिक’मा छापिएको उक्त लेख उनकै लेख संग्रह ‘राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र’मा समेटिएको छ। 

हेर्नुहोस्

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा (२०८१) चैत १५ गते गरिएको राजावादी प्रदर्शनका क्रममा २ जना मारिएका थिए भने भवनहरूमा तोडफोड, आगजनी र लुटपाट भएका थिए।  

यसपछि गणतन्त्रवादी दल तथा नेता ज्ञानेन्द्र शाहविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। त्यही घटनामा काठमाडौँ महानगरपालिकाले त शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्दै पत्रसमेत लेखिसकेको छ। तर शाहको सचिवालयले उक्त हिंसाको जिम्मेवार निर्मल निवास (ज्ञानेन्द्रको निवास) नभएको जिकिर गरेको छ। 

त्यसो त राजावादी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad