राजनीति


तीनकुने घटनाको विस्तृत विवरण गृहमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने

तीनकुने घटनाको विस्तृत विवरण गृहमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने

फाइल तस्बिर: गृहमन्त्री रमेश लेखक


नेपालखबर
चैत १८, २०८१ सोमबार १८:५, काठमाडौँ

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेका हिंसा, तोडफोड, आगजनी र लुटपाटको विस्तृत विवरण गृहमन्त्री रमेश लेखकले संसद्‌मा प्रस्तुत गर्ने भएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीनकुने घटनाको अनुसन्धान गरिरहेको र यसको विस्तृत विवरण गृहमन्त्रीले सदनमा प्रस्तुत गर्ने जानकारी दिएका हुन्। तर समय उनले तोकेनन्। 

‘घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ’, उनले भने, ‘घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ।’ 

घटनामा संलग्नहरूबारे छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसका योजनाकार को हुन् र को को संलग्न छन् भन्ने विषयमा सरकारले अनुसन्धान गरिरहेको बताए। 

राजसंस्था पुन:स्थापनाका लागि भन्दै राजावादी समूहले चैत १५ गते तीनकुेनमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाट गर्दा कराेडौँको क्षति भएको छ।

त्यसको भोलिपल्ट बिहान गृहमन्त्री लेखक क्षतिको स्थलगत अनुगमन गर्न घटनास्थल तीनकुने पुगेका थिए। त्यसपछि उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए। 

चैत १५ गते राजावादीको अराजक समूहले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि तोडफोड गरेको थियो भने सुरक्षाकर्मीका कारण माओवादी केन्द्रको कार्यालयमा भने आक्रमण गर्न पाएन। 

प्रदर्शनमा हिंसाका लागि निर्देशन दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई प्रहरीले हिरासतमा राखेर मुद्दा चलाएको छ। 

त्यस प्रदर्शनका लागि जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad