राजनीति


मनीष झालाई प्रश्न: सांसदबाट निलम्बित रविलाई सभापतिको जिम्मेवारीमा फर्काउन मिल्ला र?

मनीष झालाई प्रश्न: सांसदबाट निलम्बित रविलाई सभापतिको जिम्मेवारीमा फर्काउन मिल्ला र?

फाइल तस्बिर : रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झा र सभापति रवि लामिछाने।


नेपालखबर
चैत १७, २०८१ आइतबार १६:३, काठमाडौँ

सहकारी ठगी आरोपमा गिरफ्तार भएयता साढे ५ महिनादेखि पार्टी कामबाट अलग रहेका सभापति रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिम्मेवारीमा फर्काउने तयारी गरेको छ। 

आज आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई त्यसको अध्यक्षता गर्न लगाउने निर्णय गरेको हो। 

यद्यपि यो प्रस्ताव सोमबार पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताए। 

तर रास्वपाले यस्तो तयारी गरे पनि लामिछानेको निलम्बित सांसद पद अझै फुकुवा भइसकेको छैन। कास्कीसहित चार जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएपछि गत माघमा रविले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग पनि राखे।

तर सभामुखले फुकुवा गर्न नमिल्ने भन्दै मानेनन्। 

यस्तो अवस्थामा रविलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउन कानुनी अड्चन पर्दैन र? 

नेपालखबरको जिज्ञासामा रास्वपा कार्यवाहक प्रवक्ता झाले भने, ‘भ्रष्टाचार गरेका, अदालतबाट दोषी ठहर भएका, कस्ता कस्ता अपराध गरेकाहरू त हामीले संसद्मा देखिरहेका छौँ, हाम्रा सभापतिलाई त अदालतले दोषी ठहर गरिसकेको छैन नि!’

उनले थपे, ‘तपाईंहरूलाई थाहै छ, सभापतिको सांसद पद निलम्बन गर्ने निर्णय पनि पूर्वाग्रहपूर्ण र पक्षपातपूर्ण छ।’ 

सहकारी ठगी अभियोगमा मुद्दा परेका चार जिल्ला अदालतमध्ये कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि परेकाले सभामुखले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७’ बमोजिम रविलाई गत पुस ८ गते सांसद पदबाट निलम्बन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad