राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्।
सभामुख घिमिरेसँग भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।
उनले कास्की, काठमाडौँ र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका छन्।
आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन उनले सभामुखसँग आग्रह पनि गरे।
‘राजनीतिक प्रतिशाेधका आधारमा लगाइएकाे मुद्दालाई लिएर प्रतिनिधि सभा नियमावलीकाे व्यवस्थाभन्दा बाहिर गएर अन्य कानुनकाे प्रयोग गरी निलम्बन गरिनु नै ममाथिकाे अन्याय हाे,’ निवेदन पढेर सुनाउँदै उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुनसम्मत छैन। आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुहोस्।’
सभामुखले भने उनको स्वास्थ्यमा विशेष चासो राखेका थिए। रवि प्रवेश गर्नेबित्तिकै सभामुखले सोधेका थिए, ‘तपाईँको स्वास्थ्य अवस्था के छ?’
रविले निलम्बन फुकुवाको माग गर्दै आफ्ना कुरा राखेपछि सभामुखले प्रतिप्रश्न गरे, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र?’
त्यसो भनेपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए।
रविसँगै रास्वपा १५ जना सांसद गएका थिए।
त्यसपछि सभामुखले स्पष्ट पारे, ‘मैले विद्यमान कानुन, संसद नियमावली, अभ्यासबमोजिम निलम्बनको सूचना प्रकाशित गर्ने निर्णय गरेको हुँ। कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन। हिजो यस पदमा अरू कोही थियो। आज म छु। भोलि अरू कोही हुन सक्छ। तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो। तपाईंहरूले निवेदन दिनुभएको छ। यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन। हामी संसद सुरु हुने अन्तिम समयमा छौँ।’
पुस २५ गते कास्की जिल्ला अदालतले रविसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ६५ करोड रूपैयाँ धरौटी माग गरेको थियो। त्यस्तै माघ २ गते काठमाडौँ जिल्ला अदालतमा उनले ६० लाख बुझाउनुपरेको थियो भने रूपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका थिए।
Shares

प्रतिक्रिया