राजनीति


साढे ५ महिनापछि रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने तयारी

साढे ५ महिनापछि रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने तयारी

नेपालखबर
चैत १७, २०८१ आइतबार १४:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउने तयारी गरेको छ।

आइतबार बसेको रास्वपा सचिवालयको बैठकले साढे ५ महिनापछि लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको हो। 

तर यो प्रस्ताव सोमबार बस्ने केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र लामिछानेले बैठकको अध्यक्षता गर्ने कुरा टुंगो लाग्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले नेपालखबरलाई जानकारी दिए। 

‘यो अहिले केन्द्रीय समिति बैठकको एजेन्डा मात्र हो’, उनले भने, ‘भोलि (सोमबार) दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकले यो पास नगर्दासम्म अहिले ठोकुवा गर्न सकिएन।’

कार्यवाहक प्रवक्ता झाका अनुसार सोमबार पहिलो चरणमा दिउँसो ३ बजे कार्यवाहक सभापति अर्थात् उपसभापति डोलप्रसाद अर्यालकै अध्यक्षतामा केन्द्रीय समितिको बैठक बस्नेछ। जुन बैठकमा अर्यालले फेरि अपराह्न ४ बजे बस्ने केन्द्रीय समितिको दोस्रो बैठकमा सभापति लामिछानेलाई सहभागी गराउने प्रस्ताव पेस गर्नेछन्। 

‘त्यो प्रस्ताव केन्द्रीय समितिले पास गरेपछि बल्ल दोस्रो बैठकको अध्यक्षता सभापतिज्यूले गर्नुहुन्छ,’ उनले भने। 

कार्यवाहक प्रवक्ता झाले रास्वपा सचिवालयका धेरै सदस्यले लामिछाने पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किऊन् भन्ने चाहेको सुनाउँदै यसमा सभापतिको पनि इच्छा हुनुपर्ने बताए। 

सहकारी ठगी आरोपमा गत कात्तिक २ गते पक्राउ परेपछि पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।

त्यसयता रवि लामिछाने पार्टीका औपचारिक बैठकमा सहभागी भएका छैनन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रवि अदालतको आदेशअनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत पुस २५ गते रिहा भएका थिए।

त्यसपछि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख, रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड र चितवनको सहारा चितवन सहकारी ठगी मुद्दामा ५४ लाख धरौटी बुझाएर अहिले तारेख धाइरहेका छन्।

पर्साको सानो पाइला सहकारी ठगी आरोपमा भने उनीविरुद्ध मुद्दा दायर भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad