कारोबार


बुद्ध एयरले फ्रान्सबाट ल्यायो नयाँ सिरिजको एटीआर जहाज

कम इन्धन खाने, ९०० मिटर भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने
बुद्ध एयरले फ्रान्सबाट ल्यायो नयाँ सिरिजको एटीआर जहाज

नेपालखबर
साउन ९, २०८३ शनिबार ९:१८, काठमाडौँ

बुद्ध एयरले आज (२५ जुलाई, शनिबार) देशमै पहिलोपटक एटीआर–७२–६०० जहाज भित्र्याएको छ। आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि यो जहाजलाई आगामी महिनादेखि उडान सेवामा ल्याइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बुद्ध एयरले कल साइन ९एन-एओएस जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो।

यस एटीआर–७२–६०० जहाजमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली छन्।

क्षेत्रीय विमानमा यो सिरिजका जहाजले कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ। त्यसैगरी जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनी प्रदूषण पहिलाको सिरिजभन्दा कम हुने पनि दाबी कम्पनीले गरेको छ। 

आरएनपी-एआर भूउपग्रह प्रणाली बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी-एआर (रिक्वाएर्ड नेभिगेसन पफर्मेन्स-अथोराइजेसन रिक्वाएर्ड) एप्रोच प्रणाली जडान गरिएको छ।

प्रमाणित भइसकेको यस प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी भएको अवस्थामा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी-एआर आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ।

यो प्रक्रिया लागु भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा समेत बुद्ध एयरको यस जहाजले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको बुद्ध एयरको विज्ञप्तिमा उल्लेख छ। कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घट्ने दाबी कम्पनीले गरेको छ। 

यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्ने विश्वास बुद्ध एयरले लिएको छ। एटीआर–७२–६०० विमान भित्रिएसँगै नेपालको आन्तरिक हवाई सेवामा नयाँ सम्भावना र आधुनिक प्रविधिको सुरुवात भएको बुद्ध एयरको भनाइ छ। 

हाल इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर, तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ।

थप जहाज आउँदै

बुद्ध एयरले अर्को एक एटीआर–७२–६०० सिरिजका जहाज अगस्ट अन्तिम/सेप्टेम्बरतिर भित्र्याउने तयारी रहेको जनाएको छ। नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त जहाजको कल साइन ९एन-एओटी रहेको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरफ आगामी केही महिनाभित्र यस्तै सिरिजका थप २ जहाज भित्र्याउने योजना रहेको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरसँग हाल एउटा एटीआर–४२–३२०, पन्ध्रवटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० जहाज छन्।

बुद्ध एयरले विगतमा ३ वटा एटीआर जहाज सम्पूर्ण साइकल चलाई उडानबाट बिदाइ गरेको थियो। त्यसमा एउटा एटीआर–४२–३२० जहाजको थोरै उडान साइकल हुँदा पार्ट-आउटका लागि युरोपको हंगेरिस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो।

हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप आफ्नो बेडामा नयाँ सिरिजको जहाज थपिएको बुद्ध एयरले जनाएको छ। थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुढृढ बनाउने बताइएको छ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारत वाराणसी सातामा ३ र कोलकोता ४ दिन उडान भरिरहेको छ।

यसैगरी पोखराबाट भैरहवा तथा नेपालगन्ज उडान पनि गरिररहेको बुद्ध एयरले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad