राजनीति


बेलुन विस्फोट घटना : छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

बेलुन विस्फोट घटना : छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

नेपालखबर
चैत ५, २०८१ मंगलबार १६:३, काठमाडौँ

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।

भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। 

घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए। 

समितिले घटनाको विस्तृत छानबिन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।  

समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरूमा प्रज्वलनशील पदार्थहरूको प्रयोग गर्न पूर्ण रुपमा रोक लगाउनुपर्ने र प्रविधिका नाममा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रमहरू औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझावसहितको विषय समेटिएको छ।

त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयहरू समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। 

जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रुपरेखा उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरूको उपयोग गर्ने, बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्याँस प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमतिबिना आतिसबाजी तथा विष्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट-अति विशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापन बारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्ने लगायतका विषय सुधार गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी यस प्रकारका कार्यक्रम संचालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायहरूसँग निरन्तर रुपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरू (सभा, सम्मेलन, मेला, महोत्सव, प्रदर्शनी, र्‍याली लगायतका कार्यक्रम) संचालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधिलगायतका विषयहरू समेत समेट्ने गरी स्पष्ट कार्यविधि/मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad