राजनीति


शिक्षक महासंघका प्रतिनिधिले प्रचण्डसँग भने: ‘डु एन्ड डाई’को अवस्थामा छौँ

शिक्षक महासंघका प्रतिनिधिले प्रचण्डसँग भने: ‘डु एन्ड डाई’को अवस्थामा छौँ

नेपालखबर
चैत २, २०८१ शनिबार १३:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूका मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। 

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए।

विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता गर्न चुनौतीपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयक  तत्काल पारित गर्न जोड दिए।

‘अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ’, उनले भने, ‘तर, मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकामा जोड दिए।

´शिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्यमा ह्रास आउनुको मुख्य कारण शिक्षाबारे सही र एउटै बुझाइ नहुनु हो’, उनले भने, ‘म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो। पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन।’

अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद् दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए।

‘डु एन्ड डाई (गर कि मर) को अवस्थामा छौँ’, शिक्षक महासंघका प्रतिनिधिहरूले भने, ‘विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड सतिसालझैँ उभिनुभयो। यसपटक पनि काँध थाप्न अनुरोध छ। माओवादीले संसद्‌मा दबाबमूलक भूमिका खेलोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad