बागमती


धादिङमा होली खेल्न घरबाट निस्किएका २ किशोरी बेपत्ता

धादिङमा होली खेल्न घरबाट निस्किएका २ किशोरी बेपत्ता

हराएका २ किशोरीको फाइल तस्बिर


सुनिता विष्ट
चैत २, २०८१ शनिबार १४:१२, हेटौँडा

धादिङको नीलकण्ठ नगरपालिका-५, पतेनीका दुई बालिका होली खेल्न भनी धादिङबेसी गएकामा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा संगीता श्रीमलकी १८ वर्षीया छोरी दुर्गा श्रीमल र सोही स्थानकीे रिंकी मचकोटीकी १३ वर्षीया छोरी सबिना मचकोटी छन्।

उनीहरू दुई बिहीबार होली खेल्न भनी घरबाट निस्किएका थिए।

होलीको दिन फागुन २९ गते दिउँसो १२ बजेतिर घरबाट निस्किएका उनीहरू त्यो रात आफन्तको घरमै बसेको भनी दुर्गाको मोबाइलबाट सबिनाकी आमा रिंकीलाई फोन आएको थियो। 

रिंकीको बुवाको फूपूदिदीको घर (सबिनाको फूपू हजुरआमा) धादिङबेंसी सुनौलो बजारमा छ। अरू बेला पनि बजार जाँदा उनीहरू त्यहीँ बस्ने गरेको रिंकी बताउँछिन्।

‘दुर्गा र सबिना एकदमै मिल्थे, स्कुलबाट फर्कनेबित्तिकै सबिना दुर्गाको घर कुदिहाल्थी, सबिनाकी आमा रिंकीले नेपालखबरसँग भनिन्, ‘पहिले पहिले त राति सुत्न पनि दुर्गाकै घर जान्थी। कराउँदा-कराउँदा बल्लतल्ल सुत्नै जानचाहिँ छाडेकी थिई। अरू बेला म पनि सँगै हिँड्थेँ। होली मनाउन बजार जानी भनेर झगडा गरेपछि पठाइदिएको थिएँ।’

उनका अनुसार दुर्गाले पढाइ छोडिसकेकी छन् भने सबिना गाउँमै रहेको पतेनी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्थिन्।

उनीहरू बसेको घरबाट शुक्रबार (हिजो) बिहानै मन्दिर गएर आउँछौँ अनि दिउँसो घर जानी भनेर निस्किएको आफन्तहरू बताउँछन्। तर उनीहरू नफर्केपछि आफन्तले घर गए होलान् भन्ने सोचेका थिए।

तर रातिसम्म पनि घर नपुगेपछि दुर्गा र सबिनाका परिवारले छोरीहरू हराए भनी धादिङ प्रहरीलाई खबर गरेका छन्।

धादिङ प्रहरीले बेपत्ता दुई बालिकाको हुलियासहित खोजीमा सहयोग गर्न आम नागरिकसँग अपिल गरेको छ। 

धादिङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार गहुँगोरो वर्ण करिब ५ फिट उचाइ भएकी दुर्गा श्रीमलले सेतो टिसर्ट र कालो पाइन्ट लगाएको जानकारी आफन्तले  गराएका छन्।

यस्तै गहुँगोरो वर्णकै करिब ४.५ फिट उचाइकी १३ वर्षीया सविना मचकोटीले धर्के कुर्ता र कालो पाइन्ट लगाएको आफन्तले बताएका छन्। 

डीएसपी हमालका अनुसार उनीहरूको खोजी भइरहेको छ।

यस्तो हुलिया भएका बालिकालाई कोही कसैले देखे नजिकको प्रहरी चौकीमा खबर गरिदिन धादिङ प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad