नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ कांग्रेस र एमालेको नालायकीका कारण इतिहास भइसकेको सामन्ती राजतन्त्रले टाउको उठाउने जमर्को गरेको बताएका छन्।
मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई मंगलबार रुपन्देहीमा सम्बोधन गर्दै पुनले कांग्रेस र एमालेको कूशासन, भ्रष्टाचार र बेथितिका कारण निरंकुश राजावादी शत्तिले इतिहास भइसकेको पुरानै स्वर्ग फर्काउन सकिन्छ कि भन्ने प्रयत्न गरेको बताएका हुन्।
‘दुई तिहाइ गठबन्धनको नाममा सरकार चलाएका दुई दलले बिचौलिया वर्ग, स्वार्थ समूह र आफ्नो पार्टीको पनि सीमित गुटको स्वार्थमा सत्ताको दुरुपयोग गरिरहेका छन्’, पुनले भने, ‘शासनमा रहेकाहरूको नालायकीको फाइदा उठाएर निरंकुशतावादी प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिराखेका छन्। मुलुकका लागि यी दुवै प्रवृत्ति घातक छन्।’
सरकारले युवाहरूलाई निराशा बाँडेर बिचौलियालाई प्रोत्साहन गरेको आरोप पनि लगाए।
‘दलाल तथा बिचौलिायहरूलाई प्रोत्साहन गर्ने कांग्रेस र एमालेको सरकारले जनताम र त्यसमा पनि युवाहरूमा निराशा बाँडेको छ’, उनले भने, ‘आन्दोलनमार्फत किसान, महिला, मजदुर, उत्पीडित, जाति, क्षेत्र र वर्गले प्राप्त गरेको अधिकार रक्षा गर्ने र थप सशक्त गर्दै अगाडि बढ्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’
Shares

प्रतिक्रिया