जनता समाजवादी पार्टी नेपालका नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा शुक्रबार आयोजित जनसभामा उनी माओवादी प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे।
साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। पूर्वसांसद साहले गएको माघ १७ गते जसपा छोडेका थिए।
पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी भएकाले आफूले यही दल रोजेको बताए।
तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनको भनाइ छ।
अहिले काङ्ग्रेस र एमाले पहिचान बिरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए।
अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।
उनीसँगै पूर्वप्रदेश सभा सदस्य निराकुमारी साह र जसपा नेपालका विभिन्न तहका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
Shares

प्रतिक्रिया