राजनीति


पराष्ट्रमन्त्री राणा र जयशंकरबीच ओमानमा भेटवार्ता

पराष्ट्रमन्त्री राणा र जयशंकरबीच ओमानमा भेटवार्ता

नेपालखबर
फागुन ४, २०८१ आइतबार २१:५०, काठमाडौँ

ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार भेट भएको छ। परराष्ट्रमन्त्री राणा हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमानको राजधानी मस्कट पुगेकी छन्।

आइतबार साँझ जयशंकरसँग भेट भएको मन्त्री राणाले जानकारी दिएकी छन्।

जयशंकर र आफूले नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको जानकारी मन्त्री राणाले दिएकी छन्।

भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरूबीच कुराकानी भएको थियो। 

भेटमा मन्त्री डा राणाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बङ्गलादेश विद्युत् निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै पछिल्लो समयमा दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिबारेमा  कुराकानी भएको थियो।  

नेपाल–भारत बङ्गलादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ठूलो उपलब्धि रहेको उल्लेख गर्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री राणाको भनाइ थियो। 

भेटमा क्रसबोर्डर विद्युत् व्यापार निर्माणको ‘मोडालिटी’का विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल–भारतबीचको व्यापार सन्धिको पुनरावलोकन, गत जनवरी महिनामा काठमाडौँमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा तथा मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

साथै सो भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाह सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास तथा व्यापार प्रवद्र्धन र दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री राणाले प्रशंसा गरेकी थिइन्। 

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्या समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा समेत उनीहरूबीच छलफल भएको थियो । 

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकामा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए। साथै विदेशमन्त्री जयशङ्करले बिम्स्टेक सङ्गठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। 

मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझाहितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएकी थिइन्।

भेटमा मन्त्रीहरूबीच व्यापार पारवहन र जलस्रोत विकासका विषयमा पनि चर्चा भएको थियो। यी विषयमा भएका पछिल्ला प्रगति र भारतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति आफूले जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाको भनाइ छ।

यसअघि राणाले आइतबार नै कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँगको भेटमा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन्। 

फेब्रुअरी १४ देखि २० सम्म ओमानमा आयोजना भइरहेको आठौँ हिन्द महासागर सम्मेलनमा समुद्री साझेदारीका लागि नयाँ यात्रा विषयमा केन्द्रित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad