सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सभामा ४ समितिका सभापति चयन, माओवादीले पायो लेखा

सुदूरपश्चिम प्रदेश सभामा ४ समितिका सभापति चयन, माओवादीले पायो लेखा

नेपालखबर
फागुन ४, २०८१ आइतबार २२:९, काठमाडौँ

सुदूरपश्चिम प्रदेशसभाका चार विषगत समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन्।

लामो समयदेखि नेतृत्वविहीन रहेका प्रदेश सभाका विषयगत समितिका सभापतिको नेतृत्वका बारेमा दलहरूबीच भएको सहमतिबमोजिम ती समिमिका सभापति निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट विशेषाधिकार समितिको सभापतिमा तुल्सी देवकोटा निर्वाचित भएका छन्। यसैगरी अर्को सत्ता साझेदार नेकपा एमालेका धर्मराज पाठक सामाजिक विकास समितिको सभापति र सत्तामै रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले लेखा समितिको नेतृत्व पाएका भएका छन्।

निर्वाचन गराउन प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिमा एक-एक जनाको उम्मेदारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम दलहरूबीच प्रदेशसभामा विषेशाधिकार समिति गठन गर्ने सहमति भएको थियो। यसअघिसम्म प्रदेश सभामा चार विषयगत समिति क्रियाशील थिए। दलहरूको सहमतिबमोजिम विषेशाधिकार समिति गठन गरिएको हो।

विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समितिहरू ज्येष्ठ सदस्यको भरमा चल्दै आएका थिए।

झण्डै एक वर्षअघि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेकपा एकीकृत समाजवादीका माया पन्त, सार्वजनिक लेखा समितिमा एमालेका वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भएका थिए।

सत्ता समीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समितिबाहेक अन्य समिति गत असार महिनादेखि नेतृत्वविहीन थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad