राजनीति


सीमा नियन्त्रण गर्न गृहमन्त्री थापा र भारतीय राजदूतबीच छलफल

सीमा नियन्त्रण गर्न गृहमन्त्री थापा र भारतीय राजदूतबीच छलफल

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:५१,

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित थियो।

नेपालमा भारतीय राजदूतका रुपमा कार्यभार सम्हालेकामा क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे। मन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

भेटमा उनले विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकबीच सहकार्यको आवश्यकतामा जोड दिए। यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट सो महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे। उनले कोरोना भाइरस विरुद्धको लडाइमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए।

कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनका सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृह मन्त्रालयसमेतको राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको क्वात्राले बताए। उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी साधन उपलब्ध गराउने विषय आफुले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad