राजनीति


रोजिनाको जितले रास्वपा उत्साहित, सुमना भन्छिन्- स्वतन्त्रको लहर आउँदै छ

रोजिनाको जितले रास्वपा उत्साहित, सुमना भन्छिन्- स्वतन्त्रको लहर आउँदै छ

काठमाडौँ महानगरपालिका-१६ मा ठूला दललाई हराउँदै वडाध्यक्ष पद जितेपछि रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ। तस्बिर: रास्वपा


नेपालखबर
मंसिर १७, २०८१ सोमबार १४:४५, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा विजय हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्साहित देखिएको छ।

काठमाडौँ–१६ मा कांग्रेस, एमालेजस्ता ठूला र परम्परागत शक्तिलाई पछि पार्दै रास्वपाले आफ्नो विजयको झण्डा गाडेको छ। घन्टी चुनाव चिन्हवाहक उम्मेदवार रोजिना श्रेष्ठले जितेपछि रास्वपाले विजय जुलुस गरेको छ।

उनको जित घोषणापछि रास्वपाको केन्द्रीय कार्यालय, चःमतीमा उपलब्ध केन्द्रीय नेता तथा कार्यकर्ताहरूले घन्टी बजाएर उत्सव मनाएका थिए। विजेता उम्मेदवार श्रेष्ठलाई फूलमाला र अबिर लगाइदिए। गाडीमा राखेर वडा परिक्रमा गराए।

उनीहरूले ‘आयो आयो, घन्टी आयो। यो जित कसको? जनताको’ भन्दै नाराबाजी गरे। सिटी बजाए। 

रोजिना २ हजार ९०२ मतसहित वडाध्यक्षमा निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत ल्याए।

त्यसैगरी कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४, नेकपा (एकीकृत समाजवादी) का मीनबहादुर मानन्धरले १ हजार ९२, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले ७४२, स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्य ३३४ मत पाए।

‘१६ नम्बरका बासिन्दाले एकदम विश्वास गर्नुभयो, उहाँहरूको विश्वासले मलाई मत दिएर विजय गराउनुभयो, उहाँलाई धेरैधेरै धन्यवाद,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै रोजिनाले भनिन्, ‘वडामा उहाँहरूले जुन भोगिरहनुभएको छ, उहाँहरूकै साथ लिएर म अगाडि बढ्छु।’

भिडिओ:

रास्वपा स्थानीय तहमा पहिलोपल्ट चुनाव लडेको हो। त्यसैले स्थानीय सरकारमा यो नै रास्वपाको पहिलो उपस्थिति बन्न पुगेको छ। २०७९ को प्रतिनिधि सभा चुनावमा काठमाडौँ उपत्यकामै ५ सिट जितेको रास्वपा संसदमा अहिले २१ सिटसहित चौथो शक्तिका रूपमा उपस्थित छ। तर, पार्टी नेतृत्व अनेकन विवादमा फसेपछि रास्वपाको भविष्य के हुन्छ भन्ने चासो व्यक्त भइरहेका बेला काठमाडौँ–१६ ले पार्टी पंक्तिलाई राहत दिएको छ।

रास्वपा सांसद सुमना श्रेष्ठले राजधानी महानगरकी एक मात्र महिला वडाध्यक्षका रूपमा रोजिनालाई चिनाएकी छन् र रास्वपाको लहरका रूपमा उनको विजयलाई व्याख्या गरेकी छन्।

उनले लेखेकी छन्, ‘काठमाडौँ-१६ मा विजयी भई यस महानगरकी एक मात्र महिला वडाअध्यक्ष हुनुभएकोमा रोजिना श्रेष्ठज्यूलाई धेरैधेरै बधाई र सफल कार्यकालको शुभकामना। अन्य स्थानका उम्मेदवारलाई धन्यवाद, यस नतिजाले तपाईँहरूले समाजलाई गर्दै आउनुभएको योगदानलाई कत्ति पनि फरक नपरोस्। साथै हामीलाई मत दिनु हुने सम्पूर्णलाई हार्दिक आभार, हामीले बाटो बिराएमा खबरदारी पनि कायम राख्नु होला। स्वतन्त्रको लहर आउँदैछ।’

रोजिनाको जितपछि काठमाडौँ–८ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पहिलो जननिर्वाचित वडाअध्यक्ष बन्नुहुने श्री रोजिना श्रेष्ठलाई हार्दिक बधाई! वडा नम्बर १६ का समस्या र सम्भावनाहरूको मार्गचित्र तयार पार्दै, आगामी दिनमा धेरैका लागि प्रेरणाको स्रोत बन्नुहुने विश्वासका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad