राजनीति


कोरोना फैलिन नदिन प्रदेश ५ ले थाल्यो पूर्वतयारी

कोरोना फैलिन नदिन प्रदेश ५ ले थाल्यो पूर्वतयारी

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ११:५६,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन प्रदेश ५ मा पूर्वतयारी थालिएको छ।

प्रदेशमा अहिलेसम्म यो रोग देखा नपरे भए पनि उच्च जोखिममा रहेको हुँदा यसको नियन्त्रणका लागि पूर्वतयारी थालिएको हो। प्रदेशका सीमा नाकाबाट भित्रिने र बाहिर जाने अन्य मुलुकका सवारी साधनलाई प्रवेशमा रोक लगाउने तयारी गरिएको छ। खुला सीमा भएका कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सरकारले यस्तो तयारी गरेको हो।

यस्तै सीमा नाकामा राखिएका ‘ हेल्पडेस्क’लाई थप प्रभावकारी बनाउने र विदेशबाट आउने यात्रुलाई उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी मात्र पठाउने व्यवस्थासमेत मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यदि कोही यात्रुमा सङ्क्रमणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पु¥याउने व्यवस्था छ। एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशका चार जिल्ला अस्पतालमा ‘आइसोलेसन वार्ड’ बनाएर उपचारको व्यवस्था मिलाइएको छ।

चीनबाट शुरु भएको कोरना भाइरस विश्वव्यापी फैलिएपछि संघीय सरकारले जोखिम बढ्न नदिनका लागि सावधानी अपनाएको र सबैमा सचेत रहन आग्रह गरेका कारण प्रदेशमा पनि तयारी गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए। ‘आवश्यक परेको समयमा खाली हुने गरी अस्पतालमा श्ययाको व्यवस्था गरिएको र फोकल पर्सनसमेत तोकिएको छ’, उनले भने, ‘संक्रमण फैलिएमा आवश्यक विशेष सामग्री तयारी अवस्थामा राखेका छौँ।’

फागुन २६ गते विपद् व्यवस्थापन समितिको बैठक बसेर कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न र निम्तन सक्ने विपद् व्यवस्थापनका लागि प्रदेशका विभिन्न स्थानमा क्वारेन्टाइनको उपयुक्त स्थान पहिचान गरी सुरक्षा निकायको समन्वयमा सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी गर्ने निर्णय भएपछि सोहीअनुसार काम अगाडि बढाइएको मन्त्री बरालले बताए।

विभिन्न जिल्लामा बैठक बसेर सम्भावित जोखिम न्यूनीकरणका लागि छलफल गरिएको छ। कपिलवस्तुमा सीमा नाकामा निगरानीका साथै मिडियामार्फत सचेतनाको कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

रुपन्देहीका सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ। रुपन्देहीमा सीमा नाकामा दुई हजार ५९१ जनालाई स्क्रिनिङ टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। प्रदेशका स्थानीय तहले पनि नागरिकमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन, समुदायमा माइकिङ र पर्चा वितरण गरेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको तिलोत्तमा नगपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए।

‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा पूर्वसावधानी अपनाउन मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशनसमेत दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित पूर्वतयारी बैठकमा उनले प्रदेशमा समेत सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिए। मुख्यमन्त्री पोखरेलले प्रदेशका सीमा नाकाबाट बाहिरिने र भित्रिने अन्य मुलुकका सवारीसाधनलाई प्रवेशमा रोक लगाउनसमेत मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।

‘जहाँ भीडभाड हुन्छ, यस्तो ठाउँमा तुरुन्तै बन्देज लगाउनुप¥यो’, मुख्यमन्त्री पोखरेलले भने, ‘परिवारभन्दा बाहिर जमघट नगरौँ’, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भीडभाडबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ। ‘ज्वरो आउने, रुघाखोकी लाग्ने, घाटी दुख्नेजस्ता लक्षण देखापरे स्वास्थ्य संस्थामा जचाउन आग्रह गर्दै अहिलेसम्म कुनै असर देखिएको छैन, देखिइहालेमा पूर्वतयारी गरेका छौँ’, उनले भए। कोरोनाको संक्रमण भएपछि ज्वरो आउने त्यसपछि सुक्खा खोकी लाग्ने केही हप्तापछि श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने स्वास्थ्य निर्देशनलायका निर्देशक विनोदकुमार गिरीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad