प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको चालु अधिवेशनबाट सहमतिमैं प्रदेश ५ को राजधानी ताेक्ने बताएका छन्।
सो प्रदेशको राजधानी र नामाकरण गर्ने विषय जटिल बनिरहेका बेला प्रदेशसभाको बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले सो घोषणा गरेका हुन्। प्रदेश सभाको सो अधिवेशन केहि महिनासम्म चल्नेछ।
उनले तीनवटा (लुम्बिनी, राप्ती र भेरी) आञ्चलिक मनोविज्ञानका आधारमा प्रदेश ५ बनेको बताउँदै सो आग्रहबाट मुक्त भएर आञ्चलिक मनोविज्ञानलाई आपसमा जोड्ने गरी राजधानीको टुंगो लगाइने बताएको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाएका छन्।
'चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसकें। तपाईहरुले पनि बिर्सिनुस्। प्रदेशको साझा मनोविज्ञान तयार गरौं, सहमतिमा राजधानी तोकौं,’ उनले सो क्षेत्रका अन्य नेताहरुलाई संवोधन गर्दै प्रदेशसभामा भने। ‘लुम्बिनीका साथीले राप्ती—भेरीको संवेदनशीलता बुझ्नुपर्छ। राप्ती—भेरीले लुम्बिनीको संवेदनशिलता बुझ्नुपर्छ।’
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमण जोखिम न्युनीकरणका लागि भइरहेको तयारीबारे सभालाई जानकारी दिएका थिए।
पोखरेलले कोरोना संक्रमितलाई उपचारको व्यवस्था, नाकाहरुमा निगरानी, संक्रमितलाई छुट्टै राख्ने (आइसोलेसन) व्यवस्थालगायत पूर्व तयारीबारे भइरहेका कामबारे पनि जानकारी दिएका थिए।
याे पनि:
प्रधानमन्त्री, अध्यक्ष अहिले नै चाहियो भन्ने सन्देश दिनु राम्रो भएन : शंकर पोखरेल (अन्तर्वार्ता)

प्रतिक्रिया