राजनीति


एमालेले भन्यो- सहकारीको अनुसन्धानविरुद्ध प्रदर्शनमा संघीय सांसदकै उपस्थिति हुनु गैरकानुनी कार्य

एमालेले भन्यो- सहकारीको अनुसन्धानविरुद्ध प्रदर्शनमा संघीय सांसदकै उपस्थिति हुनु गैरकानुनी कार्य

नेकपा एमालेका महासचिव शंकर पोखरेल (फाइल तस्बिर)


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १२:३६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिरहेको प्रदर्शन गैरकानुनी भन्दै त्यसप्रति आपत्ति जनाएको छ। 

पार्टी महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन्। 

संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले बताएको छ। 

‘फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बढाउनु सबैको साझा दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ। 

सहकारी ठगी प्रकरणमै सभापति पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरू लगातार विरोध प्रर्दशनमा उत्रिएका छन्।

यस्तो कार्यलाई गैरकानुनी भन्दै एमालेले भनेको छ, ‘राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिने वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो। यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुनु र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णतः गैरकानुनी कार्य हो।’

एमालेले सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्‍याउने कुनै पनि प्रकारका गतिविधि नगर्नसमेत ध्यानाकर्षण गराएको छ

रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुपयुक्त भएको पनि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिएको छ।

रास्वपाका नेता कायकर्ता भने पोखराको सडकमा धर्ना बसिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad