राजनीति


नेपालका दलहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारित बैठकबारे ‘ब्रिफिङ’

नेपालका दलहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारित बैठकबारे ‘ब्रिफिङ’

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार २०:१७, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका दलहरूलाई तेस्रो बिस्तारित बैठकबारे जानकारी गराएको छ। 

आइतबार काठमाडौँको याक एन्ड यतीमा कार्यक्रम आयोजना गरेर नेपालका राजनीतिक दलहरूलाई बिस्तारित बैठकबारे ‘ब्रिफिङ’ गरिएको हो। 

गत असारमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो बिस्तारित बैठक बेइजिङमा बसेको थियो। 

उक्त बैठकका निर्णयबारे जानकारी गराउन चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङ्हाई प्रान्तका सचिव छेन काङ शनिबार नेपाल आएका थिए। 

कार्यक्रममा नेपालका सबै राजनीतिक दललाई आमन्त्रण गरिएको भए पनि वामपन्थी पार्टीका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। 

कार्यक्रममा उपस्थित नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले चिनियाँ कम्युनिस्ट नेता छेन काङ आफ्नो प्रदेश र नेपालको सम्बन्ध तथा बिस्तारित बैठकबारे जानकारी गराएका थिए। 

कार्यक्रमबारे रिजालले भने, ‘छिङहाई प्रान्त र नेपालको समानताहरू के के छन्, त्यो पनि एउटा उच्च हिमाली प्रदेश रहेछ। उता र यता फल्ने कतिपय फलहरूको प्रकृति मिल्दो रहेछ। पशुपालनका कुराहरू पनि मिल्दारहेछन्। नेपालसँग हाम्रो प्रान्तको सहकार्य बढाउन चाहन्छौँ भन्ने कुरा राख्नुभयो।’

त्यसपछि सचिव छेनले बिस्तारित बैठकबारे जानकारी गराएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट आएको केन्द्रीय समितिका कुल पाँचवटा विस्तारित बैठक हुन्छन्। 

त्यसमध्ये तेस्रो बैठक आर्थिक विषयमा केन्द्रित हुनेगर्दछ। यसपटकको बिस्तारित बैठक पनि आर्थिक विषयमा केन्द्रित थियो। 

‘चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकले चीनको आर्थिक सुधार र पुनरोत्थानमा गरेका प्रयासबारे जानकारी गराउनुभयो,’ रिजालले भने, ‘चीन पनि एकाएक धनी भएको होइन। त्यो आजको दिनसम्म कसरी आयो भन्ने कुरा पनि महत्त्वपूर्ण छ। त्यो कुराको उहाँले राम्ररी व्याख्या गर्नुभयो।’

एउटा पार्टीले गरेका निर्णयबारे जानकारी गराउने र लिन जाने दुवै प्रचलन ठिक नभएको भन्दै नेपालमा कतिपयले आलोचना पनि गरेका छन्। 

रिजाल भने चिनियाँ कम्युनिस्ट पार्टी र चीनको सत्ता एउटै भएकाले त्यसबारे जानकारी लिनुलाई अन्यथा मान्न नहुने बताउँछन्। 

‘चीनको कम्युनिस्ट पार्टी भनेको राजकीय पार्टी हो,’ उनको भनाइ छ, ‘हाम्रो जस्तो सत्तामा आउने–जाने, नीति लागू हुने–नहुने पार्टी होइन। निरन्तर उसका नीतिहरू लागू हुने पार्टी हो। चीनको पार्टी भन्नु नै राज्यसत्ता हो र राज्यसत्ता भन्नु नै पार्टी हो।’

उनले थपे, ‘त्यस्तो अवस्थामा हाम्रा पार्टीहरूको राम्रो सम्बन्ध हुनु भनेको त हाम्रा लागि लाभदायक नै हुन्छ। त्यसले हाम्रा राज्य तहका सम्बन्धलाई पनि सकारात्मक योगदान नै दिन्छ।’

यसअघि २०७७ मा पनि चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रशिक्षण दिएको थियो। 

कोभिडका कारण भर्चुलमाध्यमबाट सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपाको स्क‍ुल विभागको संयुक्त आयोजनामा प्रशिक्षण भएको थियो। 

‘कम्युनिस्ट पार्टी निर्माणको अनुभव आदान–प्रदान’ शीर्षकमा दिइएको प्रशिक्षणमा नेकपाका करिब एक सयजनाको सहभागिता रहेको थियो। 

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले प्रशिक्षण दिएका थिए। त्यो भन्दा अघिल्लो वर्ष पनि काठमाडौँमा यस्तै प्रकृतिको प्रशिक्षण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad