राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कठरियाले मल उपलब्ध नगराएकोमा सरकारको आलोनना गरिन्। मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन भनेर प्रश्न गरिन्।
‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन?,’ उनले प्रश्न गरिन्।
किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल छ भनिरहने गरेको उनले उल्लेख गरिन्। किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराइन्।
‘हाम्रा अन्नदाताहरू भनिरहेका छन् बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं। जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेउ सरकार। सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन?,’ उनले भनिन्, ‘यो त किसानको आँशुको व्यापार गरेको जस्तो भएन र?’
किसानले मलका लागि फोन गर्दा लाचार महसुस गरिरहेको उनले सुनाइन्। तत्काल किसानलाई मल उपब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराइन्।
‘मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको छ। किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ,’ कठरियाले भनिन्, ‘सरकारले तत्काल अन्नदाता किसानसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रस्तुत गरोस्।’
Shares

प्रतिक्रिया