नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको लाचार छाया बनाउने काम भएको आरोप लगाएका छन्।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाईसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावबाट मुक्त हुन नसकेको टिप्पणी गरे। ‘संवैधानिक संस्थाहरू कार्यपालिकाको लाचार छाया बनाउने मात्रै काम भएको छ,’ केसीले भने।
उनले संवैधानिक संस्थाको वास्तविक स्वायत्तता सुनिश्चित नभएसम्म सुनुवाई प्रक्रिया परिणाममुखी हुन नसक्ने बताए। योग्य र स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्ने वातावरण निर्माण गर्न नसकिएमा संसदीय सुनुवाई केवल औपचारिकतामा सीमित हुने उनको तर्क थियो।
‘जबसम्म त्यसको संवैधानिक स्वायत्ततालाई प्रभावकारी रुपले परिचालन गर्ने उसको क्षमता हुँदैन, त्यसले प्रभावकारी काम गर्न सक्दैन। क्षमता नभएको व्यक्तिलाई सरकारले नियुक्ति गर्दा पनि हामीले नियन्त्रण गर्ने परिस्थिति निर्माण गर्न सकेनौं भने संसदीय सुनुवाई समितिको उपादेयताले परिणाममूलक गराउन सक्दैन,’ उनले भने।
आफ्नो लामो संसदीय अनुभव स्मरण गर्दै हालसम्म संसदीय सुनुवाई समितिबाट अत्यन्तै कम नियुक्ति मात्रै अस्वीकृत भएको उल्लेख गरे। ‘अहिलेसम्मको अध्ययनमा एक जना प्रधानन्यायाधीश र राजदूतलाई संसदीय समितिले अस्वीकृत गरेको छ। नत्र अहिलेसम्म जस्ताको तस्तै पारित गरेर पठाएको हो,’ उनले भने, ‘यो एउटा औपचारिकता मात्रै हो। यो भन्दा अगाडिको प्रधानन्याधीशको सुनुवाई पनि एकै दिनमा भयो, त्यो दुखद भयो। अब त्यस्तो नहोस्।’
अधिकांश नियुक्ति प्रभावकारी परीक्षणबिना पारित हुने गरेको भन्दै उनले सुनुवाई प्रक्रियालाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले प्रस्तावित व्यक्तिविरुद्ध जनस्तरबाट आउने गुनासो तथा सुझाव संकलन गर्ने संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
‘प्रस्तावित व्यक्तिहरूका उजुरी जनस्तरबाट लिने व्यवस्था गरौँ, आवश्यक परेमा अझै समय थप गरौ, साथै उहाँहरूको संस्थालाई विकास गर्ने कार्ययोजना के छन् भन्ने कुराको पनि सार्वजानिक गरौँ,’ उनले भने।
उनले संवैधानिक निकाय तथा विश्वविद्यालयका पदाधिकारी नियुक्त हुँदा उनीहरूको व्यक्तिगत योग्यता मात्र नभई सम्बन्धित संस्थाको सुधार र विकासका लागि स्पष्ट कार्ययोजना पनि प्रस्तुत गरिनुपर्ने बताए। त्यसले नियुक्त व्यक्तिको प्रतिवद्धता र कार्यदिशा मूल्यांकन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया