राजनीति


साउदी अरेबियामा राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्य गिरफ्तार

साउदी अरेबियामा राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्य गिरफ्तार

नेपालखबर
फागुन २४, २०७६ शनिबार ८:२८,

कारण नखुलाइकनै उनीहरुलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ।तीमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन्।

तीनजना गिरफ्तार गरिएका पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।

सन् २०१७ मा साउदी युवराज मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएपछि राजपरिवारका दर्जनौँ व्यक्तित्वहरू र व्यवसायीहरू रियादस्थित रिज कार्लटन होटेलमा सीमित पारिएका थिए।

मोहम्मद बिन सलमानलाई उनका बाबुले सन् २०१६ मा युवराज घोषणा गरेपछि उनी नै खासमा देशका शासक रहँदै आएको मानिन्छ।

गिरफ्तारी शुक्रवार बिहानै गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन्।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए।

शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले लेखेको छ।

राजपरिवारका सदस्य बिना कारण किन गिरफ्तार भए?

बीबीसी सुरक्षा मामिला संवाददाता फ्र्यांङ्क गार्डनरका अनुसार युराज मोहम्मद बिन सलमानले आफ्नो शक्ति एकत्रित पार्ने प्रयत्न स्वरुप उनीहरुलाई नियन्त्रण गरेको हुनुपर्छ।

राजकुमार अहमद बिन अब्दुल अजिज देशका संस्थापक राजा अब्दुल अजिजका जीवित एकमात्र सन्तान थिए। र सत्तासीन परिवारका पाका सदस्यमा प्रिय पात्र थिए।

अर्का वरिष्ठ राजकुमार मोहम्मद बिन नायेफ अकस्मात् तीन वर्षअगाडि नहटाउँदासम्म राजगद्दीका उत्तराधिकारी थिए। त्यसअघि आन्तरिकमन्त्रीका रूपमा अल–कायदा लडाकुलाई सन् २००० ताका परास्त पारेको श्रेय पाएका थिए।

अहिलेसम्म अमेरिकी सञ्चारमाध्यममा छापिएका यी समाचारको खण्डन गरिएको छैन, तर साउदी अरेबियामा राजदरबारका मामिला प्राप्य गोप्य राख्ने प्रयत्न गरिन्छ।

असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

तर उनी इस्तानबुलस्थित साउदी दुतावासमा भएको साउदी पत्रकार जमाल खशोग्जीको हत्याकाण्ड लगायतमा मुछिएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad