ad ad

राजनीति


रास्वपा सांसद पराजुलीको प्रश्न : धनराज गुरुङलाई सहकारी ठगीमा छानबिन किन नगर्ने?

रास्वपा सांसद पराजुलीको प्रश्न : धनराज गुरुङलाई सहकारी ठगीमा छानबिन किन नगर्ने?

नेपालखबर
भदौ २४, २०८१ सोमबार १६:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानबिन गर्ने कि नगर्ने? भनेर प्रश्न गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए।

उनले सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिएको भन्दै छानबिन गर्ने कि नगर्ने भनि कांग्रेस सांसदहरूमाथि प्रश्न गरे।

उनले भने, ‘मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङको विरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ। अब म माननीय गुरुङको बारेमा छानबिन हुन्छ कि हुँदैन? भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयज्यूहरूलाई सोध्न चाहन्छु। सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध विच्छेदसम्म गरेको कुरापनि बाहिर आएको छ। सहकारी ठगीको छानबिनका लागि माग गर्दै कांग्रेसका माननीयज्यूहरूले यो संसदको वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न?’

सांसद पराजुलीले गुरुङमाथि छानबिनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे। त्यसैगरी एपीवान टेलिभिजनमा पनि जिबी राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपीवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानबिन गर्ने नगर्ने भनेर उनले अर्को प्रश्न गरे।

उनले थपे, ‘एपिवान टिभिमा जिबी राईले लगानी गरेका थिए भन्ने कुरा सञ्चार माध्यमबाट छ्यापछ्याप्ती सुन्न आइरहेको छ। त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानबिन गर्ने कि नगर्ने? सरकार बनाउने भूमिका खेल्ने सो टिभिका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन? म गृहमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .