ad ad

राजनीति


भौतिकको ब्रिफिङपछि प्रधानमन्त्रीले भने- तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस्

इम्बोस्ड नम्बर प्लेटमा ३ प्रतिशत मात्र प्रगति, २० लाख सेवाग्राही स्मार्ट लाइसेन्स पाउन बाँकी
भौतिकको ब्रिफिङपछि प्रधानमन्त्रीले भने- तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस्

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार २०:२१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उक्त मन्त्रालयसँग सम्बन्धित ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन्।

‘अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन। नतोड्नुपर्ने ठेक्का तोडिएको छ। हामीले हुनुपर्ने कामलाई अनावश्यकरूपमा अल्झाउन दिनुहुँदैन। सबैसँग कानुनसम्मतरूपमा सबैलाई समान गर्न व्यवहार हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले यो, ऊ भनेर हेर्ने होइन। समयमा गुणस्तरीय विकासका काम हुनुपर्छ। समय थपेर पनि हुनै नसक्ने काम छ भने जोसुकै ठेकेदार भए पनि ठेक्का तोड्नतिर लाग्नुपर्छ। नियमन र अनुगमनका काम प्रभावकारी हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट उत्पादन र जडानका लागि भएको सम्झौतापछिका कार्यप्रगतिबारे अध्ययन गर्नुपर्ने अवस्था आएको पनि बताए।

यातायात व्यवस्था विभाग र डेकाटुर आइडी कम्पनीबीच २०७३ सालमा सवारी साधनमा चिप्ससहितको नम्बर प्लेट मेसिनले रिड गर्न मिल्ने प्रविधि आरएफआइडी जडान गर्ने सम्झौता भएको थियो। सम्झौताबमोजिम पहिलो चरणमा २५ लाख इम्बोस्ड नम्बर प्लेट उत्पादन हुनुपर्नेमा हालसम्म पाँच लाख (३ प्रतिशत) मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ। उक्त नम्बर प्लेट अंग्रेजी भाषामा हुने गरी सम्झौता भएकामा अब कुन भाषामा छाप्ने भन्ने निर्णय नेपाल सरकारबाट हुनुपर्ने मन्त्रालयको प्रस्ताव छ।

यस्तै सवारी चालक अनुमत्रिपत्रको ट्रायल पास गरी राजस्व तिरेर बसेका स्मार्ट कार्ड पाउन बाँकी २० लाख सेवाग्राही रहेको प्रधानमन्त्रीलाई जानकारी गराइएको छ। जर्मनीको मुहल्बर कम्पनीबाट ठेक्का सम्झौताबमोजिम प्राप्त १२ लाख थान स्मार्ट कार्डलाई भारतको मद्रास कम्पनीबाट मास प्रिन्ट (छपाइ) गर्ने गरिएको छ। हाल एउटा मात्र मास प्रिन्टर मेसिन रहेको, अर्काे मेसिन खरिदका लागि ठेक्का हुन नसकेको र मेसिन चलाउने जनशक्तिको पनि अभाव रहेको ब्रिफिङमा जनाइएको छ।

प्रधानमन्त्री ओलीले रेलवे विकास आयोजनामा सडकको अधिकार क्षेत्र यकिन गरी दिनुपर्ने मुअब्जा दिन र पानीजहाजका कामलाई अगाडि बढाउन आग्रह गर्दै पानीजहाजलाई सीमापार सञ्चालनका लागि छिमेकी मुलुकले आवश्यक ठाउँ दिनुपर्ने बताए। 

प्रधानमन्त्री ओलीले हाल आर्थिक स्थिति कमजोर भएकाले नयाँ कामको थालनी नगरी सुरु भएका आयोजनालाई सम्पन्न गर्न ध्यान दिन आग्रह पनि गरे।

प्रधानमन्त्री ओलीसमक्ष मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा र मातहत निकायका प्रमुखहरूले विद्यमान अवस्था, चुनौती र सुधारका योजनाबारे जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .