राजनीति


प्रचण्ड छाडेका शर्मालाई उपेन्द्र यादवले बनाए महासचिव

प्रचण्ड छाडेका शर्मालाई उपेन्द्र यादवले  बनाए महासचिव

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८१ सोमबार १२:४२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) छाडेर उपेन्द्र यादव नेतृत्त्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका रामकुमार शर्मा सो पार्टीको महासचिव बनेका छन्। 

जसपाले पदाधिकारी चयन गर्दा शर्मालाई महासचिव बनाएको हो। शर्मासँगै मधेस प्रदेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि पार्टीको महासचिव चयन भएका छन्।

 नेता शर्मा र उनकी पत्नी इन्दु शर्मा माओवादी छाडेर गएको वैशाख ९ गते जसपामा प्रवेश गरेका थिए। इन्दु पनि जसपाको २ सय १५ सदस्यीय केन्द्रीय समितिमा समेटिएकी छन्।  

शर्मा माओवादी केन्द्रमा हुँदा एकपटक पोलिटब्युरो सदस्य र लामो समय केन्द्रीय सदस्य थिए। 

गएको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ ‘ख’ मा पाएको टिकट पनि खोसिएपछि रामकुमार शर्मा माओवादी नेतृत्वसँग रुष्ट बनेका थिए। 

सुरुमा माओवादीले शर्मालाई महोत्तरी ३ प्रदेशसभा ‘ख’ को टिकट दिएको थियो। तर, पाँच दलीय गठबन्धनको कारण लोसपालाई महोत्तरी ३ को ‘ख’ क्षेत्र छाड्नुपर्ने भएपछि मनोनयनको दिन उनको टिकट खोसिएको थियो। त्यतिबेलै उनले अब आफू उपेन्द्र यादवकाे पार्टीमा प्रवेश गर्ने घाेषणा नै गरेका थिए।

आफूलाई विश्वास गरेर उपेन्द्र यादवले पार्टीको महासचिव बनाएको भन्दै शर्माले प्रशन्नता व्यक्त गरे। 

‘म माओवादीमा हुँदा एकपटक पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य मात्रै बनेकाे थिएँ,’ शर्माले नेपालखबरसँग भने, ‘अध्यक्षज्यूले ठूलो विश्वास गरेर मलाई महासचिव बनाउनु भयो। म मधेस विद्रोहबाट जन्मेको नेता हो। यसले जसपाको गरिमा बढाएको छ।’

उपेन्द्र यादव विगतमा मधेसी जनअधिकार फोरमको अध्यक्ष हुँदा शर्मा सो संगठनको पनि महासचिव थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad